ट्रम्पले भारतबाट हुने निर्यातमा २५ % महसुल लगाएपछि तनाव बढ्यो, व्यापार सम्झौताका लागि पहल


प्रकाशित मिति : श्रावण १६, २०८२ शुक्रबार

अमेरिकासँग व्यापार सम्झौताका लागि भारत वार्तामा जुटिरहेको भारतीय सरकारी स्रोतले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट हुने निर्यातमा २५ % आयात महसुल लगाउने आदेशमा हस्ताक्षर गरेपछि आएको उक्त बयान आएको हो।

राष्ट्रपति कार्यादेशअनुसार, ट्रम्पले क्यानडाका सामानमा ३५ प्रतिशत, ब्राजिलका लागि ५० प्रतिशत, ताइवानका लागि २० प्रतिशत र स्विजरल्याण्डका लागि ३९ प्रतिशत महसुल तोकिएको छ। यी कदमहरूलाई ट्रम्प प्रशासनले अमेरिकी उद्योगको संरक्षणका लागि आवश्यकको रुपमा उल्लेख गरेको छ ।

सरकारी स्रोतका अनुसार, अमेरिकी प्रतिनिधिमण्डल यो महिनाको अन्त्यतिर नयाँ दिल्ली आउने तयारीमा छ। भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भन्यो, “हामी दुवै देशले तय गरेका मुख्य एजेन्डामा केन्द्रित छौं र यो सम्बन्ध अझ सुदृढ हुँदै जानेमा हामी आशावादी छौं।”

तर, वार्ता सजिलो छैन। कृषि र दुग्ध क्षेत्रमा भारतको कडा सुरक्षात्मक नीतिका कारण व्यापार वार्ता पटक–पटक अवरुद्ध हुँदै आएको छ। भारतले धार्मिक कारणले जनावरको चारामा आधारित दुग्ध उत्पादनको आयात स्वीकार नगर्ने स्पष्ट संकेत दिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि सम्झौता नभए झन्डै ४० अर्ब डलर बराबरको भारतीय निर्यात प्रभावित हुने सम्भावना छ, जुन भारतको अर्थतन्त्रका लागि ठूलो झट्का हुनेछ। भारतलाई एसियामा चीनको प्रभावको सन्तुलनको रूपमा हेर्ने अमेरिकाका लागि समेत यो सम्बन्ध रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ।

यसैबीच ट्रम्पले रूससँगको व्यापारिक सम्बन्ध र भारतको ब्रिक्स सदस्यताका कारण भारतमाथि थप प्रतिबन्धको चेतावनीसमेत दिएका छन् । उनले ब्रिक्स समूहमाथि अमेरिकाविरोधी नीति अपनाएको आरोप लगाएका छन्। यद्यपि, ती सम्भावित प्रतिबन्धको स्वरूप अझै स्पष्ट भएको छैन।

अमेरिकी एक वरिष्ठ अधिकारीले भनेका छन्, “भारत र अमेरिकाबीचका गम्भीर भिन्नताहरू एकै रातमा समाधान हुने खालका होइनन्।” यसले दुई देशबीचको व्यापारिक तनाव समाधान गर्न अझै समय लाग्ने स्पष्ट गर्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com