रूसी सरकारी विमान कम्पनी एरोफ्लटमाथि कसले गर्यो साइबर आक्रमण ? सयौँ उडान रद्द !
प्रकाशित मिति : श्रावण १२, २०८२ सोमबार
रूसी सरकारी ध्वजवाहक विमान कम्पनी एरोफ्लटमाथि भएको साइबर आक्रमणका कारण कम्पनीको कम्प्युटर प्रणालीमा व्यापक अवरोध उत्पन्न भएको छ। रूसको प्रोसेक्युटर कार्यालयले साइबर आक्रमणका कारण कम्पनीले सयभन्दा बढी उडानहरू रद्द गर्नुपरेको छ भने थुप्रै अन्य उडानहरू ढिलो भएको सोमबार पुष्टि गरेको छ ।
यो आक्रमणको जिम्मेवारी युक्रेनी ह्याकर समूह साइलेन्ट क्रो र बेलारुसी साइबर कार्यकर्ता समूह बेलारुस साइबर-पार्टीसनले लिएका छन्। उनीहरू बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको सत्ताविरुद्ध सक्रिय छन्।
सामाजिक सञ्जालमा देखिएका दृश्यहरूमा मस्कोस्थित शेरेमेतेभो विमानस्थलमा सयौं यात्रुहरू लाममा बसेका र उडान तालिका अस्तव्यस्त भएको देखिन्छ। यो गडबडीले एअरोफ्लोटका सहायक कम्पनीहरूरोसिया र पोबेदाका उडानहरूमा समेत असर पारेको छ।
यद्यपि अधिकांश प्रभावित उडानहरू आन्तरिक थिए, केही अन्तर्राष्ट्रिय उडानहरू (विशेष गरी बेलारुस, आर्मेनिया र उज्बेकिस्तानतर्फ) समेत रद्द गरिएका छन्।
सोमबार बिहानै कम्पनीले सूचना प्रविधि प्रणालीमा समस्या आएको जानकारी दिएको थियो। त्यसपछि प्रोसेक्युटर कार्यालयले साइबर आक्रमणकै कारण प्रणाली बन्द भएको पुष्टि गर्दै आपराधिक अनुसन्धान सुरु गरिएको जनाएको छ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यस घटनालाई गम्भीर र चिन्ताजनक भन्दै ह्याकर आक्रमण सबै सार्वजनिक सेवा दिने ठूला कम्पनीहरूको लागि स्थायी खतरा भएको टिप्पणी गरे।
साइलेन्ट क्रो समूहले आफूले एरोफ्लटको कर्पोरेट सञ्जालमा एक वर्षदेखि पहुँच राखेको, ग्राहक डाटा, आन्तरिक सञ्चार, फोन कलका रेकर्ड तथा कर्मचारी निगरानीसम्बन्धी सूचनाहरू संकलन गरेको दाबी गरेको छ। समूहका अनुसार, यी सबै प्रणालीहरू अहिले नष्ट भएका वा पहुँच बाहिर छन्, र पुनर्स्थापना गर्न करोडौं डलर खर्चिन सक्छ।
उक्त समूहले प्राप्त सूचना चाँडै सार्वजनिक गर्ने संकेत पनि दिएको छ। उनीहरूले व्यंग्यात्मक ढंगमा भनेका छन्, “एअरोफ्लोटमा यात्रा गरेका सबै रूसीहरूको व्यक्तिगत डाटा पनि अब यात्रा गरिरहेको छ — तर झोलाबिना।”
बेलारुस साइबर-पार्टीसनका अनुसार, उनीहरूले यो आक्रमण महिनौं अघिदेखि योजना बनाएका थिए र विभिन्न कमजोरीहरूको फाइदा उठाएर एअरोफ्लोटको प्रणालीमा प्रवेश गरेका थिए।
समूहकी संयोजक युलियाना शमेतावेट्सले यो आक्रमणलाई “अबसम्मकै सबैभन्दा गम्भीर र पीडादायी असर भएको” घटनाको रूपमा व्याख्या गरिन्।
रूसका विमानस्थलहरू हालै युक्रेनी ड्रोन आक्रमणका कारण पटक–पटक प्रभावित भइरहेका छन्। गर्मीको मौसममा धेरै उडानहरू सुरक्षाको कारण स्थगित हुँदै आएका छन्।








