बैंककको कृषि बजारमा नरसंहार, ५ सुरक्षागार्डमाथि गोली वर्षाएर बन्दुकधारीद्वारा आत्महत्या
प्रकाशित मिति : श्रावण १२, २०८२ सोमबार
थाइल्यान्डको राजधानी बैंककस्थित एक कृषि बजारमा सोमबार भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको छ। मृतकमध्ये पाँच जना सुरक्षा गार्ड हुन् भने बन्दुकधारीले घटनापछि आफूलाई गोली हानी आत्महत्या गरेका छन्।
थाई प्रहरीले दिएको जानकारीअनुसार घटनास्थल बैंककको बाङ सुए जिल्लामा रहेको एक कृषि उपज बजार हो, जहाँ तीव्र रूपमा गोली चलाइएको थियो। प्रहरीका अनुसार घटनाको अनुसन्धान जारी छ । गोली चलाउने व्यक्तिको परिचय र उसका उद्देश्यबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मेट्रोपोलिटन प्रहरी ब्युरोका उप-आयुक्त चारिन गोपत्ताले बन्दुकधारीको पहिचान सार्वजनिक गर्दै आत्महत्या गरेका उनले नै पाँच जना सुरक्षागार्डको हत्या गरेको पुष्टि गरेका छन्।
बैंककका प्रहरी अधिकारी सानोङ सेङमानीका अनुसार घटनामा कुनै पनि पर्यटकको मृत्यु वा चोटपटक परेको छैन। उनले बजारमा सामान्यतया कृषि वस्तुहरू किनबेच हुने जानकारी पनि दिए।
प्रहरीद्वारा सार्वजनिक भिडियो फुटेजमा एक सेतो टोपी लगाएका र झोला छातीमा बोकेका संदिग्ध व्यक्ति बजारको पार्किङ क्षेत्रमा हिँडिरहेको देखिएको छ।
थाइल्यान्डमा बन्दुक सम्बन्धी हिंसा नयाँ कुरा होइन। अक्टोबर २०२३ मा पनि एक १४ वर्षीय किशोरले परिमार्जित बन्दुकको प्रयोग गरी बैंककको एक सपिङ मलमा गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो। त्यसको एक वर्षअघि, एक पूर्व प्रहरी अधिकृतले बालआश्रममा हमला गरी २२ बालबालिकासहित ३६ जनाको ज्यान लिएका थिए।








