योगेश भट्टराई मुख्यमन्त्रीको दौडबाट रिङ आउट !


प्रकाशित मिति : आश्विन २३, २०७४ सोमबार

२२ असोज, काठमाडौं । प्रतिनिधिसभासँगै प्रदेशसभाको चुनावमा होमिँदै गर्दा नेकपा एमालेबाट प्रदेश १ को मुख्यमन्त्री सचिव योगेश भट्टराई पक्का जस्तै देखिएको थियो ।

प्रदेशमा चुनाव लड्ने योजनाका साथ पार्टी नेतृत्वसँग परामर्श गरेर उनले काठमाडौंबाट आफ्नो मतदाता नामावली पनि ताप्लेजुङ सारे । तर, उम्मेदवारी सिफारिसम्म आइपुग्दा भट्टराई एकाएक मुख्यमन्त्रीको दौडबाट रिङ आउट भएका छन् ।

उनको नाम ताप्लेजुङ जिल्ला कमिटीबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको छ । सचिव भट्टराई पनि प्रतिनिधिसभा चुनाव लड्ने गरी गाउँगाउँ पुगिरहेका छन् ।

स्रोतका अनुसार भट्टराईलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने गरी प्रदेश १ मा पठाउन एमाले नेतृत्व सकारात्मक थियो । तर, प्रदेश १ का प्रमुख भीम आचार्य र उपप्रमुख शेरधन राईले मुख्यमन्त्रीमा दाबी गरेपछि सचिव भट्टराई पछि हटेका हुन् ।

प्रदेश कमिटी बैठकमा आचार्य र राईले अनौपचारिक रुपमा मुख्यमन्त्रीको दाबेदारी प्रस्तुत गरेका छन् । ताप्लेजुङमै रहेका भट्टराईले पनि आफू मुख्यमन्त्रीको दौडबाट पछि हटेको स्वीकार गरे ।

यद्यपि स्थायी कमिटीले निर्णय गर्ने भएकाले औपचारिक रुपमा उनको सम्भावना कायमै छ ।

पार्टी सचिव समेत रहेका भीम आचार्य सुनसरी क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् भने पोलिटव्यूरो सदस्य समेत रहेका राई भोजपुरको प्रदेशसभा क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएका छन् ।

पार्टीभित्र मुख्यमन्त्रीका दाबेदार आचार्य माधव नेपाल पक्षका हुन् भने राई केपी ओली पक्षका हुन् ।

प्रदेश नम्बर ३ बाट पार्टीका स्थायी कमिटी सदस्य कसैले पनि प्रदेशसभा सदस्यमा उठ्ने इच्छा नदेखाएपछि पोलिटव्यूरो सदस्य सानुकुमार श्रेष्ठ काठमाडौं १० को प्रदेश सभामा उम्मेदवार बन्ने भएका छन् । उपाध्यक्ष तथा प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री बन्न इच्छा नदेखाएपछि उपत्यकाबाट श्रेष्ठ अघि सरेका हुन् ।

त्यस्तै शेरवहादुर तामाङ मुख्यमन्त्री बन्ने गरी प्रदेश सभामा लड्न इच्छुक रहेको बताइएको छ । उनको नाम सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभा सदस्यका सिफारिस भएको छ ।

प्रदेश नम्बर ४ मा स्थायी कमिटी सदस्य तथा प्रदेश संयोजक किरण गुरुङ मुख्यमन्त्रीको एकल दाबेदार देखिएका छन् । गुरुङ र मगर समुदायको बाहुल्य रहेको यो प्रदेशबाट थममाया थापा मगर र श्रीमाया थकालीले दाबेदारी नदेखाएपछि गुरुङ लगभग सर्वसम्मत भएका छन् ।

प्रदेश ५ मा एमालेका दुई उपाध्यक्ष, दुई उपमहासचिव, दुई सचिव र दुई स्थायी कमिटी सदस्य गरी ८ जना नेता छन् । उनीहरु प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छैनन् भने बैजनाथ चौधरी नवलपरासीबाट प्रदेश सभा सदस्यमा सिफारिस भएका छन् ।

केन्द्रीय सदस्य तथा प्रत्यक्ष निर्वाचित सांसद चौधरीलाई ५ नम्बरमा एमालेबाट मुख्यमन्त्रीका दाबेदारका रुपमा हेरिएको छ । पोलिटव्यूरो सदस्य तथा प्रदेश सहसंयोजक दलवहादुर राना पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा पाल्पाबाट सर्वसम्मत सिफारिस भएका छन् ।

प्रदेश नम्बर ६ बाट एमालेका पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला र यमलाल कँडेल दुवैजना प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् । ज्वाला सल्यान र कँडेल सुर्खेतमा सर्वसम्मत भइसकेका छन् ।

प्रदेश ७ मा उपाध्यक्ष भीम रावल र नेता भानुभक्त जोशी दुवैजना प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् । यहाँ एमालेबाट मुख्यमन्त्री दाबेदारीमा देखिएका छैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com