नेपालमा आठ जटिल रोगका बिरामीले दुई लाखसम्मको उपचार सुविधा पाउने प्रावधान लागू
प्रकाशित मिति : श्रावण १, २०८२ बिहीबार
नेपालमा साउन १ अर्थात बिहिबारदेखि आठ जटिल रोगका बिरामीले दुई लाखको उपचार सहायता सुविधा प्राप्त गर्न थालेका छन ।
स्थास्थ्य मन्त्री प्रदिप पौडेलका अनुसार क्यान्सर, मुटु,मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न थालेका हुन ।
पहिला यी रोग लागेका विरामीले १ लाख रुपैयासम्मको उपचार सहायता सुविधा पाउने गर्दथे । यो सुविधा पाउनका लागि स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनुपर्दछ ।
कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले पुर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेको मन्त्री पौडेलले बताए ।
मन्त्री पौडेलका अनुसार अब क्यान्सर, मुटु,मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्नेछन्।
मन्त्री पौडेलले आठ जटिल रोगका बिरामीलाई राहत हुने हिसाबले रकम वृद्धि गर्ने घोषणा गरेका थिए । साउन १ गतेबाट यो निर्णय लागू भएको छ । जटिल रोगहरूले दीर्घकालीन स्वास्थ्य समस्या सिर्जना गर्न सक्छन् । धेरैजसो अवस्थामा विशेष उपचार र दीर्घकालीन निगरानी आवश्यक पर्दछ ।
मुटु रोगले उच्च रक्तचाप, मुटु आघात, मुटु फेल हुने समस्या सूजना गर्दछ । अस्वस्थ जीवनशैली, खानपान र तनावका कारण यो बढ्दो समस्या बन्दै गएको छ ।
मिर्गौला रोगका लागि नियमित डायलाइसिस वा मिर्गौला प्रत्यारोपण आवश्यक हुन सक्छ। दीर्घकालीन उच्च रक्तचाप वा मधुमेहले यसलाई जन्म दिन सक्छ।
नेपालमा बढी देखिने स्तन क्यान्सर, गर्भाशयको मुखको क्यान्सर, फोक्सो र पेटको क्यान्सर हुन । समयमै पहिचान नहुँदा यो प्राणघातक समेत बन्न सक्छ ।
न्युरोलोजिकल रोगहरू पक्षघात, पार्किन्सन, अल्जाइमर्स, मिर्गी आदि यसअन्तर्गत पर्छन्। यी रोगहरु वृद्ध व्यक्तिहरूमा बढी देखिने गरेका छन ।








