गिनिज बुकमा नाम लेखाउन ८४ घण्टा भाषण !


प्रकाशित मिति : आश्विन २२, २०७४ आईतबार

भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार भाषण सुरु गर्नुभएको छ ।

टेक्सास इन्टरनेशनल कलेज, मित्रपार्कमा उहाँले यही असोज १९ गते विहान ६ बजेदेखि भाषण सुरु गर्नुभएको उहाँकी श्रीमती पारु केसीले जानकारी दिनुभयो ।

लगातार ८४ घण्टा भाषण गरेर विश्वकीर्तिमान राख्ने उहाँको सोच छ ।

यसअघि भारत गुजरातस्थित सुरतका अश्विन सुडानीले यस्तो लगातार भाषणको ७५ घण्टा ३२ मिनटको रेकर्ड राख्नुभएको छ । उहाँले विभिन्न ७५ शीर्षकमा भाषण दिनुभएको बताइएको छ ।

आज दिउँसो ३ बजेसम्म केसीले ५७ घण्टा अनवरत भाषण गरीसक्नुभएको विश्वदर्शन अभियानका अध्यक्ष नारायण प्रसाद भटृराईले जानकारी दिनुभयो ।

सो कीर्तिमानका लागि लायन्स क्लव अफ काठमाडौँ विहानीको आयोजना तथा लियो क्लवलगायतका संस्थाको सहयोगमा सो कलेजमा भाषण कार्यक्रमको आयोजना गरिएको छ ।

भाषणमा केसीले विभिन्न विषयमा प्रवचन दिनुहुन्छ भने एक घण्टामा पाँच मिनट विश्राम पाउनुहुन्छ । उहाँले दिनरात उभिएर भाषण गर्नुहुन्छ भने समय समयमा कुर्सीमा बसेर पनि भाषण गर्न पाउने प्रावधान छ ।

रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com