क्यानडासँगको व्यापार सम्झौतामा तनाव, राष्ट्रपति ट्रम्पद्वारा ३५ प्रतिशत आयात कर लागू गर्ने घोषणा


प्रकाशित मिति : असार २६, २०८२ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सामानमा ३५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन । यो घोषणाले क्यानडासँगको व्यापार सम्झौतामा तनाव उत्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पले क्यानडाली सामानमा आगामी अगस्ट १ देखि ३५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका हुन ।

यतिबेला अमेरिका र क्यानडा बीच नयाँ व्यापार सम्झौताका लागि तोकिएको अन्तिम म्याद नजिकिँदै गर्दा ट्रम्पको यो कदमले दुई देशबीचको सम्बन्ध थप तनावग्रस्त बनाएको छ ।

यो घोषणासँगै ट्रम्पले अधिकांश व्यापारिक साझेदारहरू जापान, दक्षिण कोरिया, श्रीलंका लगायतमाथि पनि १५ देखि २० प्रतिशत सम्मको व्यापक भन्सार शुल्क लगाउने चेतावनी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले युरोपेली संघलाई समेत नयाँ शुल्कको दरबारे चाँडै जानकारी दिने बताएका छन्। ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा एक पत्र पोस्ट गरेर यो निर्णय सार्वजनिक गरेका हुन्।

अमेरिकाले पहिले नै क्यानडाली सामानहरूमा २५ प्रतिशत सम्मको शुल्क लगाइसकेको छ । नयाँ ३५ प्रतिशत शुल्क यसअघि लागु भएका स्टिल, एल्युमिनियम, गाडी लगायतका क्षेत्रमा लागु नभएको ‘अलग शुल्क’ हुने ट्रम्पले स्पष्ट पारेका छन् ।

यसअघि ट्रम्पले विश्वव्यापी रूपमा ५०प्रतिशत शुल्क एल्युमिनियम र स्टिलमा, र २५ प्रतिशत शुल्क अमेरिकी भूमिमा नबनेका गाडी र ट्रकहरूमा लगाएका थिए।
आगामी महिना लागू हुने गरी उनले तामाको आयातमा पनि ५० प्रतिशत शुल्क घोषणा गरिसकेका छन्।

फेन्टानिल नामक घातक लागूपदार्थ अमेरिका भित्रिन क्यानडाले रोक्न नसकेको, क्यानडाले अमेरिकी दुग्ध किसानहरूमाथि लगाएको शुल्क र अमेरिका–क्यानडा व्यापारमा बढीरहेको घाटाका कारण भन्सार शुल्क बढाउनु परेको राष्ट्रपति ट्रम्पले दाबी गरेका छन ।

अमेरिकी सीमाशुल्क तथा सीमा सुरक्षा को तथ्यांकअनुसार अमेरिका भित्रिने फेन्टानिलमध्ये केवल ०.२ प्रतिशत मात्र क्यानाडाबाट आउँछ । अधिकांश फेन्टानिल मेक्सिको सीमा हुँदै अमेरिका प्रवेश गर्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com