टेक्सास बाढी अपडेट: मृतकको संख्या १०७ पुग्यो, १६१ जना अझै बेपत्ता


प्रकाशित मिति : असार २४, २०८२ मंगलबार

फोटो : एपी/ रासस

अमेरिकाको टेक्सासमा आएको बाढीले मृत्यु हुनेको संख्या १०७ पुगेको छ । १६१ जना भन्दा बढी अझै बेपत्ता रहेका छन ।

शुक्रबार मध्य टेक्सासमा आएको भीषण बाढीमा मृत्यु हुनेको संख्या हालसम्म कम्तीमा १०७ पुगेको हो । उद्धार टोलीहरूले दलदल बनेको नदीकिनारमा खोजी कार्य गरिरहेका छन् ।

तर बाढीपछिको चौथो दिनसम्म आइपुग्दा जीवित भेटिने आशा मर्न थालेको छ । यसबीच, थप वर्षा र चट्याङको सम्भावनाले क्षेत्रलाई थप त्रसित बनाइरहेको छ।

क्याम्प मिस्टिक नामक क्रिश्चियन बालिकाहरूको ग्रीष्मकालीन शिविरले २७ बालिका र कर्मचारी बाढीमा परी ज्यान गुमाएका बताएको छ । पाँच जना बालिका र एकजना प्रौढ अझै हराइरहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कम्तीमा ८७ जनाको मृत्यु क्यार काउन्टीमा भएको छ । तीमध्ये ५६ जना प्रौढ र ३१ जना बालबालिका छन् ।

काउन्टी शेरिफको कार्यालयका अनुसार अझै १९ जना प्रौढ र ७ जना बालबालिका पहिचान हुन बाँकी छन् । यो क्षेत्रको ग्वाडालुपे नदीमा शुक्रवार बिहानै भारी वर्षाले बाढी आएको थियो ।

राष्ट्रपति ट्रम्पको प्रशासनमाथि राष्ट्रिय मौसम सेवा को अभिभावक संस्था मा गरिएका हजारौं रोजगारी कटौतीको कारण आपतकालीन प्रतिक्रिया प्रभावकारी हुन नसकेको आरोप लागेको छ । तर ह्वाइट हाउसले यस्तो दाबीलाई अस्वीकार गरेको छ ।

ह्वाइट हाउसकी प्रवक्ता करोलिन लिविटले प्रशासनको गल्ती नभएको बताइन । मौसम सेवाले समयमै चेतावनी जारी गरेको उनको दाबी छ ।

राष्ट्रपति ट्रम्पले यस घटनालाई १०० वर्षमा एकपटक आउने विपत्ति भन्दै प्रतिक्रिया दिएका छन् । क्यार काउन्टीका बासिन्दा निकोल विल्सनले बाढी चेतावनी सायरन प्रणाली माग गर्दै अभियान सुरु गरेकी छन् ।

यो प्रणाली अन्य काउन्टीहरूमा भने लागू भइसकेको छ । टेक्सासका उप गभर्नर ड्यान प्याट्रिकले त्यस्ता सायरनले जीवन जोगाउन सक्ने बताउँदै आउने ग्रीष्म ऋतुसम्ममा त्यसको स्थापना हुने बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com