अमेरिकाको ३० प्रतिशत शुल्कप्रति दक्षिण अफ्रिकाको आपत्ति, राष्ट्रपति रामाफोसाले दिए चेतावनी


प्रकाशित मिति : असार २४, २०८२ मंगलबार

अमेरिकाले दक्षिण अफ्रिकालगायत १४ देशमा आगामी अगस्ट १ देखि ३० प्रतिशत ‘पारस्परिक’ शुल्क लागु गर्ने घोषणा गरेपछि दक्षिण अफ्रिकाले त्यसको कडा विरोध जनाएको छ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सोमबार राति जारी गरेको वक्तव्यमा उक्त शुल्क निर्णय दुई देशबीचको व्यापार सम्बन्धको गलत बुझाइमा आधारित भएको बताएका छन्। उनले अमेरिकासँगको व्यापार वार्ता जारी रहने जनाउँदै यो निर्णय पुनरावलोकन हुने विश्वास पनि व्यक्त गरे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल महिनादेखि सुरु गरेको व्यापार युद्धलाई अझ चर्काउँदै दक्षिण अफ्रिकासहित १४ देशलाई चेतावनी दिएका छन् । साथै, उनीहरूले अगस्ट १ बाट ३० प्रतिशतसम्मको उच्च शुल्क बेहोर्नुपर्ने चेतोवनी दिए । यो शुल्क पारस्परिकताको आधारमा लगाइने भनिएको छ।

ट्रम्प प्रशासनका अनुसार यी शुल्कहरू ती देशहरूलाई जवाफी कदमस्वरूप लागु गरिएका हुन्, जसले अमेरिकी उत्पादनहरूमा उच्च शुल्क लगाइरहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर राष्ट्रपति रामाफोसाले यसको तथ्याङ्कीय आधारको खण्डन गरेका छन्। उनले भने, “दक्षिण अफ्रिकाले आयात गरिने वस्तुमा औसत ७ दशमलव ६ प्रतिशतमात्र शुल्क लगाउँछ, र अमेरिकी सामानमध्ये ७७ प्रतिशतमा त कुनै शुल्क नै लाग्दैन।” उनले ३० प्रतिशत शुल्क अनुचित र असंगत भएको ठहर गरे।

दक्षिण अफ्रिका मे महिनादेखि अमेरिका सँग व्यापार सम्झौताका लागि वार्तामा जुटिरहेको छ, तर अहिलेसम्म ठोस सहमति हुन सकेको छैन। यही वार्ताक्रमकै बीचमा ट्रम्पको यस्तो कठोर कदमले दक्षिण अफ्रिकामा आशंका र असन्तोष बढाएको छ।

रामाफोसाले सकारात्मक संकेत दिँदै भने, “राष्ट्रपति ट्रम्पले यदि वार्ता सफल भयो भने शुल्कको पुनरावलोकन गरिने बताएका छन्, जुन स्वागतयोग्य कुरा हो।” उनले दक्षिण अफ्रिकी निर्यातकर्ताहरूलाई नयाँ अन्तर्राष्ट्रिय बजारहरू खोज्न समेत आग्रह गरेका छन्।

दक्षिण अफ्रिकाको प्रमुख निर्यात वस्तुहरूमध्ये गाडीका पार्टपुर्जा, औद्योगिक उत्पादनहरूसँगै कृषि उपज पनि पर्दछन्। अमेरिका दक्षिण अफ्रिकाको दोस्रो ठूलो व्यापार साझेदार हो, (पहिलो चीन) ।

विशेषगरी सिट्रस (नारंगी, सुन्तला आदि) उद्योगमा उच्च शुल्कको गम्भीर असर पर्नेछ। कृषि मन्त्रालयका अनुसार झन्डै ३५,००० रोजगारी जोखिममा पर्नेछ।

कृषि मन्त्री जोन स्टेन्हुइसेनले मंगलबार एक विज्ञप्ति जारी गर्दै भने, “हामीसँग केही हप्तामात्र बाँकी छन्। अब हामीले कूटनीतिक र आर्थिक उपायमार्फत यो शुल्क कार्यान्वयन हुन नदिने प्रयास गर्नुपर्छ।”

ट्रम्प र रामाफोसाबीचको भेटघाट मे महिनामै व्हाइट हाउसमा भएको थियो। सो क्रममा ट्रम्पले दक्षिण अफ्रिकामा गोरा मानिसहरूविरुद्ध जातीय संहार भइरहेको झुटो आरोप लगाउँदै विवादास्पद बयान दिएका थिए। यसले द्विपक्षीय सम्बन्धमा थप तनाव निम्त्याएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com