हमासद्वारा अपहरणमुक्त अमेरिकी बन्धक भन्छन्: ‘ट्रम्पसँग गाजा युद्ध अन्त्य गर्ने पर्याप्त शक्ति छ’


प्रकाशित मिति : २४ असार २०८२, मंगलबार

फोटो : एएफपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गाजाको युद्ध अन्त्य गर्न र बाँकी बन्धकहरूको रिहाइ सुनिश्चित गर्न पर्याप्त शक्ति रहेको हमासद्वारा अपहरणमुक्त एक अमेरिकी-इजरायली नागरिक कीथ सीगलले बताएका छन्।

६६ वर्षीय सीगललाई २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको हमलाका क्रममा किब्बुट्ज कफर अजाबाट अपहरण गरेको थियो। ४८४ दिनको बन्दी जीवनपछि उनलाई २०२५ फेब्रुअरीमा युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिएको थियो। उक्त सम्झौतामा ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाल्नुअघि सहजीकरणको भूमिका खेलेका थिए।

उनी आफ्नी श्रीमती अविवासँगै अपहरणमा परेका थिए। अविवालाई ५१ दिनपछि प्रारम्भिक युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिएको थियो।

सीगल र उनकी श्रीमती अविवा यस वर्षको सुरुमा ट्रम्पसँग वाशिङ्टनमा भेटेका थिए। ट्रम्पले अप्रिल ८ मा वाशिङ्टन डी.सी.मा आयोजित राष्ट्रिय रिपब्लिकन संसदीय समितिको डिनरमा कीथ सीगल, अविवा र अर्का पूर्व बन्धक इअइर होर्नलाई सान्त्वना दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीगलले हमासका सदस्यहरूले आफूलाई कसरी कुटपिट गरे, मनोवैज्ञानिक यातना दिए र आफूले देखेको एक महिला बन्दीमाथिको अत्याचारको स्मृतिले अझै पनि सताइरहेको कुरा खुलस्त बताए।

सीगलले सोमबार साँझ वाशिङ्टन डी.सी.को ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहु र राष्ट्रपति ट्रम्पबीच हुने बैठकअघि तेल अभिभमा यो धारणा व्यक्त गरेका थिए।

उनले ट्रम्पलाई आफ्नो रिहाइ सुनिश्चित गरिदिएकोमा धन्यवाद दिँदै भने, “म विश्वास गर्छु कि उहाँसँग आवश्यक शक्ति, प्रभाव र दुवै पक्षमा दबाब दिन सक्ने क्षमता छ, जसले सम्झौता गर्न, बन्धकहरूलाई छुटाउन र युद्धको अन्त्य गर्न मद्दत पुर्‍याउँछ।”

हाल गाजामा अझै ५० जना बन्धक छन्, जसमा करिब २० जना जीवित रहेको अनुमान गरिएको छ।

ट्रम्पले यसै हप्ता नयाँ युद्धविराम र बन्धक रिहाइ सम्झौता हुने आशा व्यक्त गरे पनि इजरायल र हमासबीच अझै गहिरा मतभेदहरू छन्। दुवै पक्षले कतारमा आइतबार साँझ अप्रत्यक्ष वार्ता पुनः सुरु गरेका थिए, तर तीन घण्टा लामो वार्तापछि कुनै ठोस उपलब्धि नभएको अधिकारीले बताएका छन्।

सम्भावित सम्झौताअनुसार १० जना जीवित बन्धकहरूलाई क्रमशः रिहा गरिनेछ। १८ जना मृतक बन्धकका शवहरू पनि साटासाट गरिनेछ। यसको बदलामा इजरायली जेलमा रहेका केही प्यालेस्टिनीहरूलाई रिहा गरिने प्रस्ताव छ।

हमासले अन्तिम शान्ति सम्झौता असफल भए पनि युद्ध पुनः सुरु नहोस् भन्ने अमेरिकी ग्यारेन्टी चाहेको छ। अमेरिकाले यस बारेमा केही नबोलेको भए पनि नेतन्याहुले भने हमासको प्रस्तावलाई अस्वीकार गरिसकेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com