ट्रम्प र पुटिनबीच एक घण्टा टेलिफोन वार्ता : युक्रेन युद्धबारे कुनै प्रगति भएन
प्रकाशित मिति : असार १९, २०८२ बिहीबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन । युक्रेन युद्धबारे उनीहरुबीचमा टेलिफोन वार्ता भएको हो । तर टेलिफोन वार्तामा कुनै पनि प्रगति नभएको राष्ट्रपति ट्रम्पले बताएका छन्।
ट्रम्प युक्रेन र रुसबीचको युद्ध अन्त्य गराउने आफ्नो प्रयासमा गतिरोधमा रहेका बेला यो कुराकानी भएको हो । त्यहीबीचमा अमेरिका सरकारले युक्रेनी सेनालाई हतियार आपूर्ति अस्थायी रूपमा रोकिएको घोषणा गरेको दुई दिनपछि वार्ता भएको हो ।
यद्यपि, पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले सो टेलिफोन वार्तामा युक्रेनलाई अमेरिकी हतियार आपूर्ति सम्बन्धी विषय नै नउठाइएको बताएका छन ।
ट्रम्पले एयर फोर्स वन चढ्नु अगाडि पत्रकारहरूलाई भने, ‘हामीले युक्रेनलाई हतियार आपूर्ति रोकेका छैनौं , तर हामीसँग आफैंका लागि पर्याप्त हतियार हुनुपर्ने सुनिश्चित गर्नुपर्छ।’
उनले पुटिनसँग इरान र युक्रेनबारे लामो समयसम्म कुराकानी भएको बताए । रुसका अनुसार वार्ता एक घण्टाभन्दा बढी समयसम्म चलेको थियो। ट्रम्पले भने, ‘म युक्रेन युद्धको अवस्थाबाट खुशी छैन’ र पुटिनसँगको कुराकानीमा ‘मैले कुनै पनि प्रगति गर्न सकेको छैन।’
पुटिनका सल्लाहकार उशाकोभले पुटिन र ट्रम्पबीच इरान र मध्यपूर्वको स्थिति बारे ‘विस्तृत छलफल’ भएको बताए । उशाकोभले भने, ‘पुटिनले इरानसम्बन्धी विषय कूटनीतिक माध्यमबाट मात्र समाधान गर्नुपर्ने कुरा जोड दिए।’
उनका अनुसार, ट्रम्पले फोन वार्ताका क्रममा युक्रेन–रुस युद्ध सक्दो छिटो अन्त्य गर्न चाहेको बताएका थिए। तर पुटिनले भने रुस युक्रेनमा आफ्ना लक्ष्यहरू त्याग्ने पक्षमा नरहेको बताएका छन्।
पुटिनले युक्रेनसँगको शान्ति वार्ता दुईपक्षीय हो, र यसमा अमेरिका सक्रिय रूपमा संलग्न हुन नहुने रुसी धारणा रहेको बताए ।
युक्रेनी अधिकारीहरूका अनुसार राष्ट्रपति भोलोडिमिर जेलेन्स्की शुक्रबार ट्रम्पसँग कुरा गर्ने कार्यक्रम तय भएको छ । यस वार्तामा हतियार आपूर्तिको रोक बारे छलफल हुने बताइएको छ।






