अमेरिकाले हतियार आपूर्ति रोके रुसलाई सहयोग पुग्ने युक्रेनको चेतावनी


प्रकाशित मिति : असार १८, २०८२ बुधबार

अमेरिकाबाट हतियार आपूर्तिमा अवरोध आएमा रुसलाई युद्ध लम्ब्याउन प्रोत्साहन मिल्ने युक्रेनले चेतावनी दिएको छ ।

यो युद्ध अहिले चौथो वर्षमा प्रवेश गरिसकेको छ । ह्वाइट हाउसले युक्रेनलाई केही हतियार आपूर्ति कटौती गरिएको जानकारी दिएको थियो ।

ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले भनिन्, ‘अमेरिकाको स्वार्थलाई प्राथमिकतामा राख्दै यो निर्णय गरिएको हो,’ अमेरिकी रक्षा मन्त्रालयले अन्य देशलाई दिइने सैन्य सहायता र समर्थनको समीक्षा गरेपछि यस्तो कदम चालिएको उनले बताइन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर ज़ेलेन्स्कीले अमेरिका र युक्रेनबीच आपूर्तिका सबै विवरण “स्पष्ट पारिने” क्रममा रहेका बताएका छन्। उनको विदेश मन्त्रालयले ढिलाइले आक्रान्त राष्ट्रलाई युद्ध र आतंक जारी राख्न हौसला दिनेछ, वार्ता होइन भनेर भनेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हवाई सुरक्षा प्रणाली सुदृढ गर्नु अत्यावश्यक रहेको भन्दै युक्रेनी अधिकारीहरूले जोड दिएका छन् । रुसले हरेक रात ड्रोन र मिसाइल आक्रमण जारी राखेको छ।

अमेरिकाका कीभस्थित कूटनीतिज्ञलाई युक्रेनको विदेश मन्त्रालयले छलफलका लागि बोलाएको छ। तर युक्रेनी रक्षा मन्त्रालयले भने, आफूले अमेरिकाबाट हतियार आपूर्ति स्थगन या संशोधनसम्बन्धी कुनै आधिकारिक सूचना नपाएको स्पष्ट पारेको छ ।

उसले अपूर्ण जानकारीको आधारमा अडकलबाजी नगर्न जनसमुदायलाई आग्रह पनि गरेको छ। गत साता युक्रेनले युद्ध सुरु भएयता कै सबैभन्दा ठूलो हवाई आक्रमण सहनुपरेको थियो। रुसले ५०० भन्दा बढी ड्रोन, ब्यालिस्टिक र क्रूज मिसाइल प्रहार गरेको थियो।

अमेरिकाले २०२२ को फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेपछि युक्रेनलाई दर्जनौं अर्ब डलरको सैन्य सहायता प्रदान गरिसकेको छ। तर ट्रम्प प्रशासनका केही अधिकारीहरूका अनुसार यस्तो सहयोगले अमेरिकी हतियार भण्डार नै कम हुन थालेको छ।

रुसी राष्ट्रपति कार्यालयले भने हतियार आपूर्ति कम हुनु सकारात्मक भएको प्रतिक्रिया दिएको छ। युक्रेनी सैन्य स्रोतका अनुसार,’अमेरिकी हतियारमा हाम्रो ठूलो निर्भरता छ, युरोपले सकेको सहयोग गरिरहेको छ, तर अमेरिकाको बिना यो गाह्रो हुनेछ।’

युरोपेली देशहरूले तीन वर्षभन्दा बढी समयदेखि अर्बौं डलरको सैन्य सहयोग गरिरहेका छन् । तर राजनीतिक धारहरूमा विभाजन देखिन थालेको छ ।

पछिल्लो हप्ता नेटो शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्प र ज़ेलेन्स्कीबीच हवाई सुरक्षाका विषयमा छलफल भएको थियो।

अप्रिलको अन्त्यमा अमेरिका र युक्रेनबीच खनिज सन्धि भएको थियो । जसअनुसार अमेरिकालाई युक्रेनका खनिज स्रोतमा पहुँच दिनुको बदलामा सैन्य सहयोग प्रदान गरिनेछ।

हाल रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग नियन्त्रणमा लिएको बताइन्छ । जसमा २०१४ मा कब्जा गरिएको क्राइमिया पनि पर्छ। युक्रेनी सेनाले रुसको इझेभ्स्कस्थित हतियार कारखानामा हमला गरेको जनाएको छ ।

यो कारखाना ड्रोन र राडार उत्पादन गर्ने थियो । यो स्थान सीमाबाट १ हजार किलोमिटर टाढा पर्छ । यस हमलामा ३ जना मारिएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com