पछिल्लो अध्यागमन नीतिका कारण अमेरिकामा नेपाली समुदायमा मानसिक स्वास्थ्य समस्या बढ्दो
प्रकाशित मिति : असार १७, २०८२ मंगलबार

पछिल्लो अध्यागमन नीतिका कारण अमेरिकामा नेपाली समुदायमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा देखिएको छ। न्युजर्सीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले अमेरिकामा नेपाली समुदायमा मानसिक स्वास्थ्य समस्याको एउटा प्रमुख कारण अध्यागमनसम्बन्धी समस्या र हालैका अध्यागमन नीतिमा आएको परिवर्तनलाई औँल्याएका छन्।
करिब १५ हजार नेपालीका एसाइलम आवेदन युएससीआईएस र अध्यागमन अदालतमा विचाराधीन रहेका, झन्डै साढे ७ हजार नेपालीको टीपीएस खारेज भएको, विद्यार्थी भिसामा रहेका करिब १७ हजार नेपाली विद्यार्थीले अध्ययन र आर्थिक सन्तुलन मिलाउन संघर्ष गरिरहेका, तथा वर्षौंदेखि पारिवारिक पुनर्मिलनको प्रतीक्षामा रहेका हजारौँ नेपालीका आवेदनमा ढिलाइ भइरहेको अवस्थामा अध्यागमनसम्बन्धी समस्यालाई मानसिक स्वास्थ्य समस्याको प्रमुख कारणका रूपमा लिइएको हो।
बदलिँदो जीवनशैली, व्यस्त दैनिकी र अप्रत्याशित आप्रवासन नीतिमा आएको फेरबदलले पछिल्लो समय अमेरिकामा रहेका आप्रवासी समुदाय, विशेषगरी नेपाली आप्रवासीहरूमा चिन्ता, डर र अन्य मानसिक समस्याहरू तीव्र रूपमा देखापर्न थालेका छन्। सुनौलो भविष्यको सपना बोकेर अमेरिका आएका धेरै नेपाली आप्रवासीहरू कानुनी अन्योल, रोजगारीको दबाब, पारिवारिक दूरी र सामाजिक एक्लोपनाका कारण मानसिक तनावमा परिरहेका छन्। आत्महत्याका घटनाहरू समेत सार्वजनिक भइरहेको सन्दर्भमा हड्सन स्पीक्स र साझेदार संस्था केयरपोइन्ट हेल्थ क्राइस्ट अस्पतालले आइतबार न्युजर्सीको जर्सी सिटीमा निःशुल्क मानसिक स्वास्थ्य सेमिनारको आयोजना गरेको हो ।
मानसिक स्वास्थ्यसम्बन्धी साप्ताहिक भर्चुअल सेमिनार गर्दै आएको हड्सन स्पीक्सले यसपटक सरोकारवाला, मनोचिकित्सक तथा समुदायका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागितासहितको कार्यक्रम गरेको थियो। कार्यक्रममा न्युजर्सी र वरपरका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा हड्सन स्पीक्सकी कार्यक्रम निर्देशक डा. विष्णुमाया परियारले स्वस्थ मानसिक अवस्था संस्थाको प्रमुख प्राथमिकता भएको बताइन्। “हामी नियमित रूपमा निःशुल्क परामर्श सेवा दिँदै आएका छौँ। मानसिक समस्या देखिएमा हामीसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने सुविधा पनि उपलब्ध छ। मानसिक रोग लुकाउने होइन, बुझ्ने र उपचार गर्ने विषय हो,” परियारले भनिन्। उनले नेपाली आप्रवासी समुदायमा बढ्दो मानसिक समस्यालाई ध्यानमा राख्दै थप व्यापक पहुँचका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गरिन्। उनले आवश्यकता परेमा संस्थाले विशेषज्ञ थेरापिस्ट उपलब्ध गराउने र सहयोगी संस्थासँग समन्वय गरेर समस्या समाधानमा सघाउने समेत बताइन्।
कार्यक्रममा क्लिनिकल थेरापिस्ट दिनेश श्रेष्ठले मानसिक स्वास्थ्यका विविध आयामबारे जानकारी दिँदै अध्यागमन नीतिमा आइरहेका परिवर्तन र जीवनशैली फेरबदलले निम्त्याएको मानसिक समस्यामाथि प्रकाश पारे। उनले भने, “हरेक दिन नयाँ चुनौती आउन सक्छ, तर त्यो चुनौतीलाई कसरी लिने भन्ने कुरा हाम्रो मानसिक तयारीमा भर पर्छ।” श्रेष्ठले मानसिक रोगको प्रारम्भिक संकेत देखिनासाथ विशेषज्ञसँग सम्पर्क गर्नुपर्नेमा जोड दिँदै भने, “गलत निर्णय लिनुअघि सहायता माग्नु बुद्धिमानी हो।”
कार्यक्रममा खसोखास तथा नेपयोर्कका प्रधान सम्पादक किशोर पन्थीले पछिल्ला अध्यागमन नीतिका कारण नेपाली विद्यार्थी, एसाइलम पेन्डिङमा बसेका आप्रवासी तथा अन्य अस्थायी भिसामा रहेका नेपालीहरू गहिरो मानसिक तनावमा रहेको बताए। भाषा समस्या तथा उपचारको पहुँच अभावमा धेरै नेपालीहरूले मानसिक समस्या लुकाएर, सहेर बस्ने अवस्था रहेको भन्दै उनले भने, “भाषा नमिल्दा धेरै नेपाली समस्यामा परे पनि उपचार खोज्न सक्दैनन्। यो निकै गम्भीर अवस्था हो।”
कार्यक्रममा हड्सन स्पीक्सका कन्सल्ट्यान्ट बालकृष्ण मैनालीले मानसिक समस्यालाई रोगको रूपमा नभई जीवनको एउटा चुनौतीका रूपमा बुझ्नुपर्ने बताए। उनले भने, “हामी धेरैजसो समस्या समाधान गर्नुभन्दा रोगमा केन्द्रित हुन्छौँ। त्यसैले पहिले तनावको मूल कारण पत्ता लगाएर समाधानतर्फ लाग्नुपर्छ।” उनले मानसिक समस्या रोगजस्तो लागे पनि यसको समाधान सम्भव रहेको बताए।
यस्तै, कार्यक्रममा एसोसिएट म्यारिज एन्ड फ्यामिली थेरापिस्ट पूजा पाप्नेजाले आत्मचिन्तन र आत्मसमर्पणमा ध्यान दिन आग्रह गरिन्। उनले भनिन्, “हामी सधैँ अरूको लागि दौडिन्छौँ। तर आफूलाई समय नदिँदा हामी आफैँ कमजोर र एक्लो महसुस गर्न थाल्छौँ, जसले मानसिक समस्यालाई बल दिन्छ।” उनले थपिन्, “जुनसुकै परिस्थितिमा पनि ‘मेरो खुसी, मेरो स्वास्थ्य पहिलो हो’ भन्ने सोचले धेरै समस्याबाट बच्न सकिन्छ।”
कार्यक्रममा जर्सी सिटी काउन्सिल प्रेसिडेन्ट जोयस वाटरम्यानले मानसिक स्वास्थ्यबारे खुलेर बोल्नुपर्ने बेला आएको बताइन्। उनले भनिन्, “मानसिक स्वास्थ्यबिना शारीरिक स्वास्थ्य सम्भव छैन। त्यसैले तपाईँलाई गाह्रो भएको छ भने खुलेर भन्नुहोस्, सहयोग माग्नु कमजोरी होइन, यो बुद्धिमत्ता र बलियोपन हो।”
कार्यक्रममा हड्सन स्पीक्सबाट विभिन्न तालिम लिएका प्रशिक्षार्थीहरूको पनि उल्लेख्य उपस्थिति थियो। कार्यक्रमको सञ्चालन हड्सन स्पीक्सका आईटी कन्सल्ट्यान्ट प्रदीप परियार थापाले गरेका थिए।
अमेरिकामा प्रत्येक वर्ष ५ जना वयस्कमध्ये १ जनालाई मानसिक स्वास्थ्य समस्या देखिने गरेको छ। यो सङ्ख्या ५ करोडभन्दा बढी हुन आउँछ। तर, धेरैजसो मानिसहरूले सहयोग पाउँदैनन्। अल्पसङ्ख्यक समुदायका मानिसहरूका लागि मानसिक स्वास्थ्य सेवा पाउन अझ गाह्रो छ।
हालसालैको एउटा अध्ययनअनुसार, अमेरिकामा रहेका २०% दक्षिण एसियालीहरू – अर्थात् ५ जनामध्ये १ जनालाई – आफ्नो जीवनकालमा डिप्रेसन वा एन्जाइटी भएको पाइएको छ। तर, तीमध्ये करिब ३४% ले मात्र सहयोग लिने गरेका छन्। यसको अर्थ आधाभन्दा बढी मानिसहरू चुपचाप पीडित छन्।
धेरै दक्षिण एसियाली संस्कृतिहरूमा मानसिक रोगबारे कुरा गरिँदैन। यसलाई लाजमर्दो वा कमजोरीको रूपमा हेरिन्छ। धेरै परिवारहरू अङ्ग्रेजीबाहेक अन्य भाषाहरू बोल्छन्, र आफ्नो भाषा र संस्कृति बुझ्ने थेरापिस्ट खोज्न गाह्रो हुन्छ। कतिपय मानिसहरूलाई त सहयोग उपलब्ध छ वा आफूले महसुस गरिरहेको कुराको उपचार सम्भव छ भन्नेबारे पनि जानकारी हुँदैन।
सबै तस्वीर: राजन काफ्ले