अमेरिकाले इरानको परमाणु केन्द्र पूर्ण रुपमा नष्ट गर्न नसकेको प्रतिवेदन सार्वजनिक, ह्वाइट हाउसद्वारा खण्डन
प्रकाशित मिति : असार १०, २०८२ मंगलबार
A Douglas C-47 Skytrain, center, flanked by two P41 Fighters, perform a flyover during an event to honor the Army’s 250th anniversary, coinciding with President Donald Trump’s 79th birthday, Saturday, June 14, 2025, in Washington. (AP Photo/Mark Schiefelbein)
अमेरिकाले इरानमा गरेको बम हमलामा त्यहाँका परमाणु केन्द्र पूर्ण रुपमा नष्ट नभएको अध्ययन प्रतिवेदनले औल्याएको छ ।
प्रारम्भिक अमेरिकी गुप्तचर प्रतिवेदनका अनुसार अमेरिकी आक्रमणपछि इरानको आणविक कार्यक्रम केवल केही महिनाका लागि मात्र अवरुद्ध भएको देखाएको छ
राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेजस्तो इरानका परमाणु केन्द्रहरु “पूर्ण रूपमा ध्वस्त” नभएका देखिएको हो ।
यो रिपोर्ट रक्षा गुप्तचर एजेन्सी ले सोमबार सार्वजनिक गरेको हो । रिपोर्ट अनुसार अमेरिकी आक्रमणले फोर्डो, नतान्ज र इस्फहानस्थित आणविक केन्द्रहरूमा ठूलो क्षति पु¥याए तापनि ती केन्द्रहरु सम्पूर्ण रूपमा नष्ट भएका छैनन् ।
अमेरिकी हमलाअघि इरानले आफ्नो तयारी युरेनियमको केही अंश ती स्थलहरूबाट सारिसकेको थियो । साथै, युरेनियमलाई आणविक हतियारका लागि आवश्यक स्तरमा संवर्धन गर्न प्रयोग गरिने उपकरणहरू पनि अधिकांश जोगिएका रिर्पोटमा उल्लेख छ ।
विशेषगरी गहिरो भूमिगत फोर्डो युरेनियम संवर्धन केन्द्रमा अमेरिकी बी २ स्टेल्थ बमवर्षकले ३० हजार पाउन्ड तौलका बंकर बस्टर बम खसालेका थिए । त्यसले प्रवेशद्वार ध्वस्त पारेको छ भने सतही पूर्वाधार नष्ट गरेको छ । तर पनि भूमिगत संरचना भने बाँकी रहेको मूल्यांकन गरिएको छ ।
ह्वाइट हाउसले भने यो मूल्यांकनलाई “पूर्ण रूपमा गलत” भन्दै खण्डन गरेको छ । प्रेस सचिव क्यारोलिन लेविटले राष्ट्रपति ट्रम्पलाई अपमानित गर्ने प्रयास भएको बताइन । उनले मिशन पूर्ण रुपमा सफल बनाएका ती साहसी पाइलटहरूको अपमान यस प्रतिवेदनले गरेको उनले दाबी गरिन ।
सीआइए र राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालय ले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । इजरायली सरकारले पनि औपचारिक मूल्यांकन सार्वजनिक गरेको छैन।
राष्ट्रपति ट्रम्पले हालैका दिनमा पटक–पटक आक्रमणपछि इरानका आणविक स्थलहरू “पूर्ण रूपमा ध्वस्त” भएको दाबी गर्दै आएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि “हामीले इरानको आणविक कार्यक्रम ध्वस्त पार्यौं” भन्दै ट्रम्पलाई धन्यवाद दिएका छन्।
ट्रम्पका विशेष दूत स्टिभ विटकोफले पनि “यो रिपोर्ट लीक हुनु देशद्रोह हो र यसको छानबिन हुनुपर्छ” भन्दै कडा प्रतिक्रिया दिएका छन् । बाह्य विशेषज्ञहरूका अनुसार इरानले सम्भवतः पहिले नै संवर्धित युरेनियम र महत्वपूर्ण उपकरणहरू अन्यत्र सारिसकेको थियो ।
अमेरिकी उपग्रह कम्पनी म्याक्सार टेक्नोलोजीजका अनुसार, आक्रमणअघि नै फोर्डो साइटमा ट्रक र बुलडोजरहरू देखिएका थिए । उनीहरूका अनुसार सुरुङहरूको प्रवेशद्वार माटोले ढाकिएको थियो।
इरानले अहिलेसम्म सार्वजनिक रूपमा आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ । संयुक्त राष्ट्रसंघीय आणविक निरीक्षण संस्थाका अनुसार, इरानसँग पर्याप्त युरेनियम छ । उक्त परिमाणको युरेनियमले चाहेमा धेरै आणविक बम बनाउन सकिन्छ ।
अमेरिकाको डीआइए द्वारा गरिएको प्रारम्भिक मूल्यांकनले इरानको आणविक कार्यक्रमलाई स्थायी रूपमा नष्ट पारिएको छैन भन्ने देखाएको छ ।
यदि अन्तर्राष्ट्रिय समुदाय सतर्क भएन भने इरानको आणविक कार्यक्रम पुनः सक्रिय हुन सक्छ भन्ने सन्देश यो प्रतिवदेनको रहेको देखिन्छ ।






