टेनेसीमा लैंगिक पहिचान पुष्टि गर्ने उपचारमा प्रतिबन्ध कायम राख्न अदालतको आदेश


प्रकाशित मिति : असार ४, २०८२ बुधबार

अमेरिकी सर्वोच्च अदालतले टेनेसी राज्यमा ट्रान्सजेन्डर नाबालकहरूलाई जेंडर अफर्मिङ्ग अर्थात लैंगिक पहिचान पुष्टि गर्ने चिकित्सा उपचारमा लगाइएको प्रतिबन्धलाई समर्थन गरेको छ ।

प्रतिबन्धले संविधानको १४औं संशोधनले ग्यारेन्टी गर्ने समान संरक्षण अधिकारको उल्लंघन नगर्ने ठहर अदालतले गरेको छ ।

अदालतको ६–३ को निर्णयमा कन्जरभेटिभ (रूढ़िवादी) न्यायाधीशहरूको बहुमत थियो । तीनजना उदारवादी न्यायाधीशहरूले यो निणर्यमा असहमति जनाएका थिए ।

टेनेसी राज्यको सन् २०२३ मा पारित गरिएको यो कानूनले १८ वर्ष मुनिका व्यक्तिहरूलाई लैंगिक पहिचानसँग सम्बन्धित उपचार प्युबर्टी ब्लोकर र हर्मोन लिन रोक लगाउँछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चुनौती दिनेहरूले यो कानून ट्रान्सजेन्डर किशोर किशोरीहरूको अधिकारविरुद्ध रहेको बताउँदै अदालतमा उजुरी गरेका थिए।

टेनेसीले ट्रान्सजेन्डर उपचारसँग सम्बन्धित जोखिम र फाइदामा अझै चिकित्सा विशेषज्ञहरूबीच विवाद रहेको ठहर पनि गरेको छ । यो कानून त्यही अनिश्चिततामा आधारित भएर बनाइएको हो।

अमेरिकन सिभिल लिबर्टीज युनियन का ट्रान्सजेन्डर वकिल चेस स्ट्रान्जियोले भने, ‘यो फैसला ट्रान्सजेन्डर व्यक्ति, तिनका परिवार, र संविधानको रक्षा चाहने सबैका लागि पराजय हो।’

ट्रान्सजेन्डर अधिकार अहिले अमेरिकी सांस्कृतिक द्वन्द्वमा केन्द्रविन्दु बनेको विषय हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा कार्यभार सम्हालेलगत्तै ट्रान्सजेन्डर अधिकारविरुद्ध कडा नीति लिन थालेका छन्।

यो फैसला देशभरि २५ वटा राज्यमा पारित भएका यस्तै कानूनहरूलाई बल पुर्याउने सम्भावना छ । अमेरिकी अटर्नी जनरल पाम बॉन्डीले यो निर्णयलाई स्वागत गर्दै अन्य राज्यहरूलाई पनि टेनेसीको उदाहरण पछ्याउन आह्वान गरेकी छन्।

स्वास्थ्यकर्मीहरूले १८ वर्ष मुनिका व्यक्तिहरूलाई जेंडर अफर्मिङ्ग उपचार दिन नपाउने भएका छन । प्युबर्टी ब्लोकर र हर्मोन थेरेपी प्रयोग नगर्न निर्देशन दिइएको छ ।

चिकित्सकहरूलाई कानून उल्लंघन गरेमा जरिवाना, मुद्दा, वा पेशागत कारबाही हुन सक्छ भनेर कानूनमा उल्लेख गरिएको छ । यो औषधीहरू अन्य स्वास्थ्य अवस्थाहरू जस्तै जन्मजात दोष, समयअगावै आउने यौवन अवस्थाका लागि भने प्रयोग गर्न पाइनेछ।

हालैको सर्वेक्षण अनुसार, ५३ प्रतिशत अमेरिकी उत्तरदाताले १८ वर्षमुनिका ट्रान्सजेन्डर बालबालिकालाई जेंडर सम्बन्धित उपचारबाट रोक लगाउने कानूनको समर्थन गरेका छन् ।

रिपब्लिकनहरूमा समर्थन दर ५७ प्रतिशत रहेको छ । डेमोक्र्याटहरूमा केवल २३ प्रतिशतले समर्थन जनाएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com