अमेरिकामा सामाजिक सञ्जाल र भिडियो नेटवर्कमार्फत समाचार हेर्नेको संख्या बढ्दै


प्रकाशित मिति : असार २, २०८२ सोमबार

अमेरिकामा परम्परागत टेलिभिजन र समाचार वेबसाइटभन्दा सामाजिक सञ्जाल र भिडियो नेटवर्कमार्फत समाचार हेर्नेको संख्या बढ्दै गएको अध्ययनले देखाएको छ ।

अनुसन्धान अनुसार अमेरिकामा सामाजिक सञ्जाल र भिडियो नेटवर्कहरू अब प्रमुख समाचार स्रोत बन्न थालेका छन । जसले परम्परागत टिभी च्यानलहरू र समाचार वेबसाइटहरूलाई पछि पारिसकेको देखिएको छ ।

रोयटर्स इन्स्टिच्यूटको प्रतिवेदन अनुसार ५४ प्रतिशत मानिसहरूले फेसवुक, एक्स र यूट्युव जस्ता सञ्जालहरूबाट समाचार लिन्छन् । जुन टेलिभिजन ५० प्रतिशत र समाचार साइट तथा एपहरू ४८ प्रतिशत भन्दा बढी हो।

प्रतिवेदनले भनेको छ, ‘सामाजिक सञ्जाल र व्यक्तित्व केन्द्रित समाचारको उदय केवल अमेरिकामै सीमित छैन । तर यहाँ तीव्र गतिमा र धेरै प्रभावसहित परिवर्तन भइरहेको देखिन्छ।’

प्रतिवेदनका लेखक निक न्यूम्यानका अनुसार सामाजिक भिडियो र व्यक्तित्वमा आधारित समाचारको वृद्धि ‘परम्परागत प्रकाशकहरूका लागि अर्को ठूलो चुनौती’ हो।

प्रतिवेदनमा यो पनि उल्लेख गरिएको छ कि केही राजनेताहरू परम्परागत पत्रकारहरूभन्दा आफ्ना समर्थक अनलाइन सञ्चालकहरूलाई अन्तर्वार्ता दिने गरेका छन् ।

विश्वभरिका लोकप्रियतावादी नेताहरू ‘परम्परागत पत्रकारितालाई बाइपास गरेर मित्रवत्, पक्षपाती मिडिया, ‘प्रभावशाली व्यक्ति’ र ‘अनलाइन व्यक्तित्व’हरूमार्फत समाचार दिन थालेका छन् । जसले गहिरा प्रश्न कमै सोध्ने गर्छन् र धेरैजसो गलत सूचनामा संलग्न हुन्छन्।’

यद्यपि तिनीहरूको लोकप्रियता उच्च छ । संसारभर ४७ प्रतिशत जनताले अनलाइनका प्रभावशाली व्यक्तिहरू र व्यक्तित्वहरूलाई गलत वा भ्रामक जानकारीको प्रमुख स्रोत मानेका छन् । जुन दर राजनेतासँग बराबरी छ ।

प्रतिवेदनमा भनिएको छ कि समाचारको लागि एक्स को प्रयोग धेरै बजारमा ‘स्थिर वा बढ्दो अवस्थामा’ छ, र सबैभन्दा ठूलो वृद्धि अमेरिकामा देखिएको छ।

एलोन मस्कले सन् २०२२ मा एक्स खरिद गरेपछि, ‘धेरैजसो दक्षिणपन्थी विचारधाराका व्यक्तिहरू’ विशेषतः युवा पुरुषहरू यो नेटवर्कमा सक्रिय भएका छन् ।

जबकि प्रगतिशील विचारधाराका व्यक्तिहरूले यसलाई छोडेका छन् वा कम प्रयोग गर्न थालेका छन्। अमेरिकामा आफैलाई ‘दक्षिणपन्थी’ भन्ने प्रयोगकर्ताहरूको संख्या तीन गुणा बढेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com