अमेरिकाको टेक्सासमा बाढीका कारण कम्तीमा ११ जनाको मृत्यु, सतर्कता अपनाउन सुझाव
प्रकाशित मिति : जेष्ठ ३१, २०८२ शनिबार

अमेरिकाको टेक्सासमा रहेको स्यान एन्टोनियो शहरमा परेको भीषण बाढीका कारण कम्तीमा ११ जनाको मृत्यु पुष्टि भएको छ ।
बाढीका कारण अझै केही व्यक्ति हराइरहेका शहरका अधिकारीहरूले बताएका छन्। चट्याङ र आँधीसँगै आएको वर्षाले स्यान एन्टोनियोमा बाढी ल्याएको थियो।
अमेरिकी मौसम सेवाका अनुसार यो आँधी टेक्सास हुँदै पूर्वतिर सर्दै गइरहेको छ । उच्च स्तरीय मौसमी प्रणालीका कारण बाढी आएको हो । त्यहाँ दुईवटा टर्नाडो पनि उत्पन्न भएको थियो ।
तीन जना अझै बेपत्ता रहेको अनुमान गरिएको छ। स्यान एन्टोनियो फायर डिपार्टमेन्टले केही व्यक्तिहरू अझै सम्पर्कविहीन रहेको बताएको छ ।
खोज तथा उद्धारमा स्यान एन्टोनियो प्रहरी, टेक्सास एएण्डएम टास्क फोर्स १, र संघीय आपतकालीन व्यवस्थापन एजेन्सी अन्तर्गतको राष्ट्रिय टोली संलग्न छन्। खोजी मुख्य रूपमा सलाडो क्रिक र लिओन क्रिक क्षेत्रमा केन्द्रित छ।
बिहीबार राति मध्यरातदेखि पानी परेपछि पेरिन बेटल रोड नजिक १५ वटा सवारीसाधन बाढीले बगाएको मौसम विभागले जनाएको छ। त्यस स्थानमा १० जना उद्धार गरिएको थियो । शहर प्रशासनका अनुसार, ७० भन्दा बढी जल उद्धार कार्य सम्पन्न गरिएका छन्।
मौसम सेवा अनुसार, हायस काउन्टी नजिक विंबर्ली क्षेत्रमा दुईवटा टर्नाडो देखिएको थियो । जसको गति ६५ देखि ८५ माइल प्रति घन्टा रहेको थियो। ती टर्नाडोहरूले रुख र संरचनामा क्षति पुर्याएका थिए।
शहर प्रशासनले जनाएको अनुसार, आँधीले १८ वटा सडकहरू अझै बन्द छन्।
मौसम पूर्वानुमानअनुसार अलग–अलग स्थानमा मेघगर्जनसहितको वर्षा हुनसक्ने र तापक्रम १०७ डिग्री फरेनहाइट पुग्न सक्ने जनाइएको छ।
स्यान एन्टोनियो नदी र सिबोलो क्रिक आसपासको क्षेत्रमा बाढीको चेतावनी शनिबार बिहानसम्म कायम रहनेछ।