होमल्याण्ड सेक्युरिटी सेक्रेटरीको कार्यक्रममा क्यालिफोर्नियाका सिनेटरलाई हतकडी
प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार

क्यालिफोर्नियाको लस एन्जलसमा बिहीबार होमल्यान्ड सेक्युरिटी सेक्रेटरीको पत्रकार सम्मेलनबाट डेमोक्रेटिक सिनेटर एलेक्स प्याडिलालाई बलजफ्ती हटाइएको छ भने उनलाई सुरक्षा अधिकारीहरुले हतकडी समेत लगाएका छन् । डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमको पत्रकार सम्मेलनमा प्रश्न सोध्न खोज्दा सिनेटर प्याडिलालाई निकालिएको हो ।
नोएम लस एन्जलसमा अध्यागमन कारवाही र त्यसविरुद्ध भइरहेका विरोध प्रदर्शनहरूबारे छलफल गर्न आएकी थिइन्। प्याडिलाले कार्यक्रममा प्रश्न सोध्ने प्रयास गरेका थिए, तर संघीय एजेन्टहरूले उनलाई भुइँमा लडाएर हतकडी लगाएका थिए । पछि प्याडिलालाई रिहा गरिएको थियो ।
होमल्यान्ड सेक्युरिटीबाट जारी वक्तव्यमा प्याडिले अनादरपूर्ण राजनीतिक नाटक गरेको आरोप लगाइएको छ । पछाडि हट्न गरिएको अनुरोध उनले पालना नगरेको दावी समेत होमल्यान्ड सेक्युरिटीले गरेको छ । घटनापछि सिनेटर र नोएमबीच १५ मिनेट कुराकानी भएको समेत जनाइएको छ ।
प्याडिलाले आफू शान्तिपूर्वक रहेको र प्रश्न सोध्न सोध्दा तुरुन्तै जबरजस्ती कोठाबाट निकालेर भुइँमा लडाइएको र हतकडी लगाइएको बताएका छन् । आफूलाई गिरफ्तार नगरिएको र हिरासतमा पनि नराखिएको उनले बताएका छन् । प्याडिलालाई निकालेको भिडियो तुरुन्तै अनलाइनमा फैलिएको थियो । सांसदहरूदेखि क्यालिफोर्नियाका गभर्नर ग्याविन न्युुसमले समेत घटनाको भिडियो पोस्ट गरेका थिए ।
एउटा भिडियोमा प्याडिलाले आफ्नो परिचय दिँदै गर्दा धकेलिएको सुनिएको छ । पछि उनलाई कोठाबाट बाहिर निकालेपछि भुइँमा लडाएर हतकडी लगाइएको देखिन्छ। पत्रकार सम्मेलनअघि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले यो कार्यक्रम कानून प्रवर्तन र अमेरिकी सैन्य कर्मचारीहरूलाई समर्थन गर्न आयोजना गरेको बताएको थियो।
ट्रम्प प्रशासनले हालैका दिनहरूमा अध्यागमन कारवाहीको विरोध भएका गतिविधि सम्हाल्न नेशनल गार्ड र मरीनलाई परिचालन गरेको छ ।
We are marching to Senator Thune’s office. There must be accountability for the detainment of a Senator. This is not normal. pic.twitter.com/kupghLfqo1
— Maxwell Alejandro Frost (@MaxwellFrostFL) June 12, 2025
यसैबीच सिनेटर प्याडिलामाथिको व्यवहारको विरोधमा सांसदनहरुले वाशिंगटन, डीसीमा अमेरिकी सिनेटमा बहुमत नेता जोन थुनको कार्यालयमा मार्च गरेका छन् । फ्लोरिडाका सांसद म्याक्सवेल एलेजान्ड्रो फ्रोस्टले शेयर गरेको भिडियो फुटेजमा प्याडिलालाई जबरजस्ती हटाइएपछि बिहीबार दिउँसो अमेरिकी क्यापिटलमा हिंडिरहेका सांसदहरूको समूह देखाइएको छ।