अमेरिका र चीनबीचको व्यापार विवाद समाधानतर्फ, ट्रम्प र सी ले अनुमोदन गरेपछि सम्झौता लागू हुने


प्रकाशित मिति : जेष्ठ २७, २०८२ मंगलबार

अमेरिका र चीनले विश्वका दुई ठूला अर्थतन्त्रबीच बढ्दो व्यापार तनाव कम गर्नका लागि प्रारम्भिक रूपरेखामा सहमति जनाएका छन ।

अमेरिकी वाणिज्य मन्त्री हावार्ड लुटनिकले उक्त सम्झौताले दुर्लभ खनिज र चुम्बक ‘म्याग्नेट’ सम्बन्धी प्रतिबन्ध समाधानमा सहयोग गर्ने अपेक्षा गरिएको बताए।

दुवै पक्षले यो योजना अब आफ्ना राष्ट्रपतिहरू — डोनाल्ड ट्रम्प र सी चिनफिङ — समक्ष अनुमोदनको लागि प्रस्तुत गरिने जनाएका छन्। यो घोषणा लण्डनमा भएको दुई दिन लामो वार्तापछि गरिएको हो । अमेरिका र चीनका उच्च अधिकारीबीच त्यहाँ महत्वपूर्ण छलफल भएको थियो।

बैठकको प्रमुख विषयमध्ये दुर्लभ खनिजको निर्यात पनि एक रहेको थियो । यी खनिजहरू स्मार्टफोनदेखि लिएर विद्युतीय गाडीहरू निर्माणसम्मका लागि अत्यावश्यक हुन्छन्।

गत महिना अमेरिका र चीनबीच भन्सार शुल्कको विषयमा अस्थायी युद्धविराम भएको थियो । तर त्यसयता दुवैले एकअर्कालाई सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै आएका छन्।

अमेरिकाले चीनमाथि दुर्लभ खनिज र चुम्बकको निर्यात ढिलो गरिरहेको आरोप लगाएको छ । जसले प्रविधि निर्माण उद्योगलाई असर पारेको छ।

उता चीनले भने अमेरिका दोषी भएको बताउँदै चिनियाँ कम्पनीहरूलाई कम्प्युटर चिप डिजाइन सफ्टवेयर नदिएको, हुवावे कम्पनीका चिप प्रयोग नगर्न चेतावनी दिएको र चिनियाँ विद्यार्थीहरूका भिसा रद्द गरेको आरोप लगाएको छ।

अमेरिकी मन्त्री लुटनिकले पत्रकारहरूसँग भने, “हामीले जेनेभा सहमति कार्यान्वयनका लागि रूपरेखा तयार गरेका छौं । अब राष्ट्रपतिहरूले अनुमोदन गरेपछि कार्यान्वयन प्रक्रिया सुरु हुनेछ।”

चीनका उप वाणिज्य मन्त्री ली चेङगाङले भने, “हामीले जुन ५ तारिखमा दुई राष्ट्रप्रमुखबीच फोन वार्तामा भएको सहमति र जेनेभामा भएको बैठकका सहमति कार्यान्वयनको रूपरेखामा सिद्धान्ततः समझदारी गरेका छौं।”

यो वर्षको सुरूवातमा राष्ट्रपति ट्रम्पले केही देशहरूबाट हुने आयातमा उच्च भन्सार शुल्क घोषणा गरेका थिए । जसबाट चीन सबैभन्दा बढी प्रभावित भयो। चीनले जवाफी रूपमा अमेरिकी वस्तुहरूमा भन्सार बढाएको थियो।

भन्सार शुल्कले दुई देशबीचको तनाव चुलिँदै गएको थियो । अप्रिल ९ मा अमेरिकाले चिनियाँ वस्तुहरूमा १४५ प्रतिशत सम्मको शुल्क लगाएर उच्चतम बिन्दुमा पुगेको थियो।

तर, मे महिनामा स्विट्जरल्यान्डमा भएको वार्तामा अस्थायी सहमति भएपछि अमेरिकी भन्सार ३० प्रतिशत मा झरेको थियो । चीनले १० प्रतिशतमा ल्याएको थियो । चीनले त्यसबेला केही दुर्लभ खनिजहरूको निर्यातमा रोक हटाउने प्रतिबद्धता जनाएको थियो।

वार्ताको केही दिन अघि चिनियाँ वाणिज्य मन्त्रालयले केही दुर्लभ खनिज निर्यात अनुमतिहरू स्वीकृत गरेको जानकारी दिएको थियो । यद्यपि कुन देशलाई भनेर खुलाइएको थिएन।

चीनका राष्ट्रपति सी चिनफिङले दुर्लभ खनिज व्यापार पुनः सुरु गर्न सहमति जनाएका राष्ट्रपति ट्रम्पले शुक्रबार भनेका थिए । यस प्रारम्भिक समझदारीले अब दुई देशबीचको व्यापार विवाद समाधानतर्फ सकारात्मक कदम लिएको विश्वास गरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com