भारतसँगको व्यापार घाटा बढेको बढ्यै


प्रकाशित मिति : आश्विन १८, २०७४ बुधबार

निर्यात वृद्धिदर न्यून तथा आयात उच्च हुँदा व्यापार घाटा डरलाग्दो –

नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार मुलुक भारततर्फको व्यापार घाटा उच्चदरमा बढ्दै गएको छ । कुल वैदेशिक व्यापारको ६० प्रतिशतभन्दा बढी हिस्सा ओगेट्ने छिमेकी मुलुक भारततर्फ निर्यातको तुलनामा आयात वृद्धि उच्च हुँदा व्यापार घाटा डरलाग्दो रूपमा बढिरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

पहिलो महिनामै उच्च घाटा
चालू आर्थिक वर्षको पहिलो महिनामै नेपालले भारतसँग ठूलो व्यापार घाटा व्यहोरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालले भारतसँगको व्यापारमा ३७ अर्ब ७८ करोड २४ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यो नोक्सान अघिल्लो आवको सोही अवधिको तुलनामा १० दशमलव ७ प्रतिशतले बढी हो । समीक्षा अवधिमा नेपालको निर्यात घटेको छ भने भारततर्फको आयात बढेको छ । राष्ट्र बैंकका अनुसार भारतमा ३ अर्ब ७९ करोड ४७ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १० दशमलव १ प्रतिशत कम हो । तर, यस अवधिमा आयात भने ९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा भारतबाट नेपालमा ४१ अर्ब ५७ करोड ७१ लाख रुपैयाँबराबरको आयात भएको छ ।

वर्षमै झन्डै ६ खर्बको घाटा
अघिल्लो आर्थिक वर्ष ०७३-७४ मा नेपालले भारतसँगको व्यापारमा कुल ५ खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ घाटा व्यहोरेको थियो । यो नेपालको कुल व्यापार घाटाको ६४.६ प्रतिशत हिस्सा हो । उक्त आवमा नेपालले भारततर्फ ४१ अर्ब ४४ करोड रुपैयाँबराबरको मालवस्तु निर्यात गरेको थियो । जब कि सोही अवधिमा भारतबाट नेपालमा ६ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँबराबरको मालवस्तु आयात भयो । यस अवधिमा निर्यातको वृद्धिदर ५ प्रतिशत मात्रै रह्यो, तर आयात वृद्धिदर भने ३२ दशमलव ३ प्रतिशत पुग्यो । निर्यातको तुलनामा आयात उच्च हुँदा भारतसँगको व्यापार घाटा अत्यधिक भएको हो ।

व्यापार घाटा वृद्धिदर उच्च
नेपालले आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतसँग ठूलो व्यापार घाटा व्यहोरिरहेको छ । र, हरेक वर्ष व्यापार घाटा उच्च दरमा बढिरहेको छ । चालू आवको पहिलो महिनामा व्यापार घाटा १०.७ प्रतिशतले बढ्यो । अघिल्लो आर्थिक वर्षमा भारतसँगको व्यापार घाटा ३५ दशमलव ३ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष ०७२-७३ मा भारतले लगाएको नाकाबन्दीका कारण आयात–निर्यात प्रभावित हुँदासमेत भारतसँगको व्यापार घाटाचाहिँ शून्य दशमलव ४ प्रतिशतले बढेको थियो ।

‘भारतसँगको घाटा घटाउन विशेष जोड दिइरहेको छु’

मीनबहादुर विश्वकर्मा
वाणिज्यमन्त्री

मुलुकको सबैभन्दा ठूलो व्यापार साझेदार भारत भएकाले भारतर्फको व्यापार घाटा न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेको छु ।

अहिले भारतर्फको व्यापार घाटा नै ५ खर्ब ९२ अर्ब रहेको छ । यसलाई थोरै मात्र घटाउन सके पनि हाम्रो व्यापार सन्तुलन गर्न ठूलो मद्दत पुग्छ ।

भारतबाट ३५ अर्बको कृषि वस्तु आयात हुन्छ जसलाई नेपालले तत्कालै न्यूनीकरण गर्न सक्छ । झन्डै डेढ खर्बको पेट्रोलियम आयातलाई पनि विद्युत् उत्पादन बढाएर न्यूनीकरण गर्न सकिन्छ ।

यसका लागि हामीले कृषि वस्तु, तरकारी तथा फलफूल, पशु तथा मासुलगायतको आयात विस्थापन र विद्युत् उत्पादन बढाउनेमा प्रयास गर्नुपर्नेछ ।

किन भारततर्फको निर्यात बढ्न सकेन
भारतबाट आयात उच्च दरमा बढिरहेको भए पनि नेपालको निर्यात वृद्धिदर भने निराशाजनक रहेको छ । चालू आवको पहिलो महिनामा त निर्यात घटेको राष्ट्र बैंकको तथ्यांक छ । भारततर्फको निर्यातमा अवरोध धेरै देखिएका कारण नेपालको घाटा झन्–झन् बढदै गएको सरोकारवाला बताउँछन् । भारतले वेला–वेला परीक्षणका नाममा नेपालका कृषिलगायत उत्पादनलाई निकासीमा अवरोध गर्ने गरेको छ । अहिले पनि अदुवा निकासीमा अवरोध रहेको छ । त्यस्तै, अघिल्लो वर्ष जुटमा भारतले काउन्टरभेलिङ ड्युटी (प्रतिकारात्मक कर) लगाएको थियो । हालै मात्र पनि नेपालको छाला वस्तुलाई भारतको रक्सौल नाकामा रोकिएको थियो । भारतले वनस्पति घिउ, एक्रिलिक यार्न (धागो), कपर र जिन्क अक्साइड निर्यातमा समेत कोटामा आधारित भन्सारदर निर्धारण गरेको छ । भारतले ३० प्रतिशतभन्दा कम मूल्य अभिवृद्धि भएको नेपाली वस्तुमा समेत भन्सार लगाउने गरेको छ । यस्ता भन्सार तथा गैरभन्सार अवरोधले नेपालले भारतमा निर्यात गर्न नसकेको व्यवसायी बताउँछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com