पोर्चुगललाई दोस्रो नेसन्स लिगको उपाधि, स्पेन पराजित
प्रकाशित मिति : जेष्ठ २५, २०८२ आईतबार
पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै दोस्रो नेसन्स लिगको उपाधि जितेको छ। म्युनिखमा भएको रोमाञ्चक फाइनलमा छिमेकी स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पोर्चुगलले युइएफए नेसन्स लिग २०२५ को उपाधि हात पारेको हो।
निर्धारित समयमा भएको खेल २-२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा पोर्चुगलले स्पेनलाई ५-३ को गोल अन्तरले हराउन सफल भयो।
खेलको ६१औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई २-२ को बराबरीमा ल्याएका थिए। अल्भारो मोराटाको पेनाल्टी डाइगो कोस्टाले बचाएपछि रुबेन नेभेसले निर्णायक पेनाल्टी गोल गरे। उक्त क्षणमा रोनाल्डो खुसीका आँसु झार्दै मैदानको छेउमा ढलेका थिए।
२०२३ को संस्करण जितेको स्पेनले खेलको २१औँ मिनेटमा मार्टिन जुबिमेन्डीको गोलमार्फत अग्रता लिएको थियो। पेनाल्टी सुटआउटमा गोन्कालो रामोस, भिटिन्हा, ब्रुनो फर्नान्डेस र नुनो मेन्डेसले सहजै गोल गरे भने मोराटाको कमजोर प्रहारलाई गोलकिपर कोस्टाले रोकिदिए। अन्तिम पेनाल्टीमा नेभेसले गोल गर्दै पोर्चुगललाई जित दिलाए।
यससँगै पोर्चुगल नेसन्स लिगको उपाधि दुई पटक जित्ने पहिलो टोली बनेको छ। यो फाइनल पाँच पटकका बालन डिओर विजेता रोनाल्डो र चर्चित किशोर खेलाडी लामिन यामालबीचको पहिलो प्रतिस्पर्धा थियो। तर, पहिलो हाफमा दुवै खेलाडीले खासै प्रभाव जमाउन सकेनन्।
४० वर्षीय रोनाल्डोले फेरि एक पटक निर्णायक क्षणमा गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल सङ्ख्या १३८ पुर्याए। यामाल भने अतिरिक्त समयमा प्रतिस्थापन गरिएका थिए।
स्पेनलाई १५ वर्षपछि उपाधि भिडन्तमा हराएको पोर्चुगल सेमिफाइनलमा जर्मनीलाई हराउँदै फाइनलमा पुगेको थियो। उता स्पेनले फ्रान्सलाई सेमिफाइनलमा हराएर उपाधि नजिक पुगेको थियो।
सन् २०२१ मा फाइनलमा पराजित भएको स्पेनले २०२३ मा उपाधि जितेको थियो।






