ट्रम्पले पुटिनसँग युक्रेन युद्ध अन्त्यका लागि सोमबार फोनमा कुराकानी गर्ने


प्रकाशित मिति : जेष्ठ ३, २०८२ शनिबार

COMBO-US-RUSSIA-UKRAINE-CONFLICT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी हुने बताएका छन । उनले सोमबार युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग फोनमा कुराकानी हुने बताएका हुन। ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले बिहान १० बजे फोनवार्ता हुने जानकारी दिएका हुन्।

त्यसपछि उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेंस्की र केही नेटो राष्ट्रका नेताहरूसँग पनि कुरा गर्ने बताएका छन्। शुक्रबार टर्कीको इस्तानबुलमा युक्रेन र रुसबीच तीन वर्षपछि प्रत्यक्ष वार्ता भएको थियो । वार्तामा ठोस सहमति भने हुन सकेन।

तर वार्ताको दौरानमा दुबै पक्षबीच बन्दी साटासाटमा गर्ने सहमति भने भएको थियो। ट्रम्पले यदि पुटिन पनि उपस्थित हुने हो भने आफू वार्तामा सहभागी हुन तयार रहेको बताएका थिए । तर पुटिनले त्यसलाई अस्वीकार गरेका थिए।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबारको ट्रम्प पुटिन फोनवार्ताको तयारी भइरहेको पुष्टि गरेका छन्। ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “आशा छ, यो एक उत्पादक दिन हुनेछ, युद्धविराम हुनेछ, र यो हिंसात्मक युद्ध, जुन कहिल्यै हुनु हुँदैनथ्यो, समाप्त हुनेछ।”

युरोपेली नेताहरूले रुसलाई ३० दिने युद्धविराममा सहमत हुन आह्वान गर्दै आएका छन्।

यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लावरोभबीच शनिबार भएको फोनवार्तामा रुसले ट्रम्पको शान्ति प्रयासलाई स्वागत गरेको जनाएको छ। इस्तानबुल वार्ता युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीच तीन वर्षपछि भएको पहिलो प्रत्यक्ष भेट थियो।

वार्तापछि युक्रेनले पूर्ण र बिना सर्त युद्धविरामको माग दोहोर्याएको थियो। तर, युक्रेनी अधिकारीका अनुसार रुसले युक्रेनलाई आफ्नै भूभागका ठूलो भागबाट सेना फिर्ता गर्नुपर्नेजस्ता ‘अस्वीकार्य माग’हरू राखेको छ।

रुसी प्रतिनिधिमण्डलका प्रमुख र पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले भने वार्ताबाट सन्तुष्ट रहेको र सम्पर्कलाई जारी राख्न तयार रहेको बताएका छन्।

तर वार्ताको केही घण्टापछि रुसी ड्रोनले युक्रेनको सुमी क्षेत्रमा यात्रुबाहक बसलाई आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com