भारतसँगको तनावबारे पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको टिप्पणी, मोदीलाई के भने ?


प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार

wiki

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले भारत र पाकिस्तानबीचको हालैको तनावबारे टिप्पणी गरेका छन् । उनले देश र सेना दुवै आफ्नो भएको बताएका हुन् ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत उनले भारतसँगको पछिल्लो तनावले पाकिस्तान एक साहसी राष्ट्र हो भनेर फेरि प्रमाणित गरेको जिकिर गरे । उनले भने, ‘भारतसँगको पछिल्लो तनावले फेरि एकपटक प्रमाणित गरेको छ कि पाकिस्तान एक साहसी राष्ट्र हो।’

खानले पाकिस्तानी सेनाले सीमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पराजित गरेको दाबी गरे। उनले भने, ‘हाम्रा सैनिकहरूले जसरी सीमामा मोदीलाई हराए, त्यसैगरी पाकिस्तानी जनता, विशेषगरी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विश्वभर मोदी र आरएसएसको कथानकलाई असफल बनाए।’

उनले भारतीय नेतृत्वमाथि गम्भीर आरोप लगाउँदै भने, ‘मोदीले पाकिस्तानका नागरिक, बालबालिका, महिला, वृद्ध र संस्थाहरूलाई निशाना बनाएर कायरता प्रदर्शन गरे। हाम्रा सेनाले यसको जवाफ पूर्ण शक्ति र सटीकताका साथ दिएको छ।’

बीबीसी उर्दूका अनुसार, खानले मोदीले पाकिस्तानलाई आर्थिक रूपमा कमजोर बनाउन हरसम्भव प्रयास गर्ने र भविष्यमा कुनै पनि आक्रमणको अवस्थामा देशलाई एकजुट र तयार रहनुपर्ने बताए। उनले देशवासीलाई सजग रहन र राष्ट्रिय एकताको सन्देश दिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com