अमेरिकासँगको व्यापार युद्धबीच क्यानडाले आर्थिक एजेन्डालाई अघि बढाउने


प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिका–क्यानाडा व्यापार युद्धबीच आर्थिक एजेन्डालाई अघि बढाउने तयारी गरेका छन ।

नयाँ मन्त्रिमण्डल घोषणा गर्दै प्रधानमन्त्री कार्नीले आर्थिक एजेण्डाललाई निर्णायक कदमको रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन ।

प्रधानमन्त्री मार्क कार्नीले नयाँ मन्त्रिमण्डलले उनको महत्त्वाकांक्षी आर्थिक एजेन्डा कार्यान्वयन गर्ने अपेक्षा गरेको बताएका छन ।

अमेरिका र क्यानाडाबीच जारी व्यापार युद्ध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा क्यानाडाको सार्वभौमिकता माथि पटक–पटक गरिएको टिप्पणीबीच यो नयाँ मन्त्रिमण्डल सार्वजनिक गरिएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२८ मन्त्री र १० राज्य मन्त्रीहरु सहितको मन्त्रिमण्डलमा केही प्रमुख फेरबदल पनि भएका छन् । जसमा क्यानाडा–अमेरिका सम्बन्ध सम्हाल्ने नयाँ विदेशमन्त्री पनि रहेका छन्।

निर्वाचन भएको दुई सातापछि आएको यो पुनर्गठन ूयो परिवर्तनको मोडमा बनेको टोली भएको कार्नीले पत्रकार सम्मेलनमा भनेका छन ।
प्रधानमन्त्री कार्नीले दक्षिणी छिमेकी अमेरिकासँगको चिसिएको सम्बन्ध सुधार गर्न केही अनुभवी तथा नयाँ अनुहारहरूलाई पनि जिम्मेवारी दिएका छन्।

हालैको ह्वाइट हाउस भ्रमणपछि ट्रम्प नयाँ व्यापार सम्झौतामा वार्ताका लागि तयार रहेको कार्नीले बताएका थिए। डोमिनिक लेब्लाङ्कलाई क्यानाडा–अमेरिका व्यापार सम्बन्ध र देशभित्रका व्यापार अवरोधहरू हटाउने जिम्मेवारी दिइएको छ ।

पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोको मन्त्रिमण्डलमा उच्च पदहरूमा रहेकी अनिता आनन्दलाई नयाँ विदेशमन्त्री बनाइएको छ। मेलानी जोलीलाई विदेश मामिलाबाट हटाएर उद्योग मन्त्रालय दिइएको छ।

नयाँ मन्त्रिमण्डलमा १० राज्य मन्त्रीहरु समावेश छन् । जसले वरिष्ठ मन्त्रीहरूको सहायकको रूपमा काम गर्नेछन्।

क्यानाडाको परम्पराअनुसार मन्त्रिमण्डलले भौगोलिक, भाषिक, जातीय विविधतालाई प्रतिनिधित्व गर्छ। कार्नीले प्रेरी प्रान्तहरूबाट एक मन्त्री र एक राज्य सचिवलाई समावेश गर्दै पश्चिमी क्यानाडामा बढ्दो असन्तुष्टि र पृथकीकरणको आवाजलाई सम्बोधन गर्न खोजेका छन्।

कार्नीले ट्रुडोको लैंगिक समानताको नीतिलाई पनि निरन्तरता दिएका छन्। कन्जर्भेटिभ नेता पियर पोइलिएभरले कार्नीको नयाँ मन्त्रिमण्डलमा ट्रुडो सरकारका पुराना अनुहारहरू धेरै भएको भन्दै आलोचना गरेका छन ।

कार्नीले चुनावका बेला क्यानडावासीलाई गरेको वाचा अनुसारको काम नगरेको भन्दै पोइलिएभरले टिप्पणी गरेका छन।

कार्नीको नयाँ टोलीले आर्थिक सुधार, आवास निर्माण, पर्यावरण नीतिमा तीव्रता, तथा अमेरिका–क्यानाडा सम्बन्ध सुधार गर्न गम्भीर पहल गर्ने संकेत दिएको छ। पुराना मन्त्रीहरूको पुनरागमनले नयाँ युगको अपेक्षा साकार गर्न कठिन हुने आलोचकहरुले टिप्पणी गरेका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com