युक्रेनको अडान – रुससँग वार्ता गर्न तयार, आत्मसमर्पण अस्वीकार्य


प्रकाशित मिति : बैशाख १०, २०८२ बुधबार

युक्रेनले रुससँग वार्ता गर्न तयार रहेको तर आत्मसमर्पण नगर्ने स्पष्ट पारेको छ। युक्रेनकी उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले बुधबार यो कुरा बताएकी हुन्।

अमेरिकाले युक्रेन र रुसबीच सम्झौताको प्रस्ताव गरेको मिडिया रिपोर्टहरूमा उल्लेख छ, जसमा युक्रेनले रुसले कब्जा गरेको लगभग सबै क्षेत्र छोड्नुपर्ने उल्लेख छ।

स्विरिडेन्कोले सामाजिक सञ्जाल एक्समा लेख्दै भनिन्, ‘रुसलाई पुन: संगठित गरी थप हिंसासहित फर्कन बलियो आधार दिने कुनै सम्झौता स्वीकार्य हुनेछैन।’

उनले युक्रेनी जनताले शान्तिको नाममा लुकेको स्थगित द्वन्द्वलाई कदापि स्वीकार नगर्ने पनि बताइन्।

मिडिया रिपोर्टहरूका अनुसार, वाशिंगटनको प्रस्तावमा रुसले कब्जा गरेको युक्रेनी प्रायद्वीप क्रिमियालाई औपचारिक रूपमा रुसी क्षेत्रको रूपमा मान्यता दिने र रुसले कब्जा गरेको अधिकांश युक्रेनी भूभागमा उसको वास्तविक नियन्त्रण कायम रहने उल्लेख छ।

यता, युक्रेनले भने पूर्ण, तत्काल र बिना शर्त युद्धविरामको माग गरेको छ। स्विरिडेन्कोले भनिन्, ‘स्थल, आकाश र समुद्रमा पूर्ण युद्धविराम पहिलो आवश्यक कदम हो।’

यदि मस्कोले सीमित विरामको पक्ष लियो भने युक्रेनले पनि सोहीअनुसार जवाफ दिने उनले प्रष्ट पारिन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com