रुसले युद्धविराम आफै उल्लंघन गरेको जेलेन्स्कीको आरोप
प्रकाशित मिति : बैशाख ६, २०८२ शनिबार
रुसले घोषणा गरेको युद्धविराम आफै उल्लंघन गरेको युक्रेनले आरोप लगाएको छ । युक्रेन विरुद्धका सबै सैन्य गतिविधि रोक्न रुसी राष्ट्रपती भ्लादिमिर पुटिनले आदेश दिएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस युक्रेन शान्तिवार्तामा कुनै प्रगति भएन भने अमेरिका यो प्रयासबाट बाहिरिने चेतावनी दिएको सन्र्दभमा रुसको पछिल्लो घोषणा हुनसक्ने अनुमान गरिएको छ ।
इस्टर पर्वलाई मध्यनजर गर्दै ३० घण्टाको लागि युद्धविराम रुसले गरेको हो । यो युद्धविराम आइतबार राती सकिने छ ।
युक्रेनले युद्धविराम घोषणा गरेर रुसले कुर्स्क र बेलगोरोद क्षेत्रहरूमा आक्रमण जारी राखेको बताएको छ । रूसी ड्रोनहरू अझै प्रयोग भइरहेको युक्रेनको भनाई छ ।
तर केही क्षेत्रमा शान्ति देखिएको युक्रेनी अधिकारीहरुले बताएका छन । रुसले युद्धविरामको पालना युक्रेनले गरेन भने जवाफी कारवाही गर्ने चेतावनी पनि दिएको छ । जेलेन्स्कीले रुस शान्तिप्रति प्रतिबद्ध नभएको आरोप लगाउदै आएका छन ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनले युद्धविरामको पालना गर्ने बताएका छन । तर रुसले नै यसलाई तोडेको आरोप लगाउन उनले छोडेका छैनन ।
यदि रुस साँच्चिकै पूर्ण र बिना सर्त मौनताको लागि तयार छ भने, युक्रेनले त्यसको अनुगमन गर्नेछ, जेलेन्स्कीले भनेका छन । उनले अमेरिकाले प्रस्ताव गरेको ३० दिने युद्धविरामको प्रस्ताव टेवलमा रहेको पुटिनलाई स्मरण गराएका छन ।
अमेरिकी प्रस्ताव अनुसार यो युद्धविराम घोषणा भएको हो भने युद्धविराम २० अप्रिलपछि पनि विस्तार गर्न सकिने जेलेन्स्कीले बताएका छन् ।
युक्रेनी विदेश मन्त्री आन्द्री सिबिहाले पुटिनले ३० दिनको युद्धविरामको प्रस्तावमा ३० घण्टाको युद्धविराम गर्नु लडाईको अर्को तयारी हुनसक्ने बताए । उनले रुसका शब्दमा होइन व्यवहारमा युद्धविराम हुनुपर्ने बताए ।
पुटिनले आफ्नो प्रमुख सेनापति भ्यालेरी गेरेसिमोभसँगको भेटमा अस्थायी युद्धविरामको घोषणा गरेका थिए । रूसी रक्षा मन्त्रालयले युक्रेनी सेनाले युद्धविरामको पालना गरेमा रुसी सेना युद्धविरामको पालना गर्ने बताएको छ ।
पुटिनको यो घोषणा पछि बेलायतको विदेश मन्त्रालयले पुटिनले शान्तिप्रतिको आफ्नो प्रतिबद्धता देखाउने सहि समय आएको भन्दै प्रतिकृया दिएको छ ।
रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको थियो ।






