कुमारीको कथामा आधारित गाजलु न्युयोर्कमा देखाइने


प्रकाशित मिति : भाद्र २५, २०७३ शनिबार

कुमारीको कथामा आधारित चलचित्र ‘गाजलु’ न्युयोर्कमा देखाइने भएको छ । आगामी सेप्टेम्बर २५ आइतवार न्युयोर्कको ज्याक्सनहाइटमा रहेको हिमालयन याक रेष्टुरेण्टमा चलचित्रको दुई शो गर्न लागिएको घरमै रेकर्ड इभेन्टका युगेश लिम्बुले जानकारी दिए । विहान साढे ११ बजे र दिउसो साढे २ बजे देखाइने चलचित्र ‘गाजलु’मा श्रृष्टी श्रेष्ठ, अनमोल केसी , मेनुका प्रधान र गौरी मल्ल लगायतको अभिनय रहेको छ । चलचित्रमा अनमोलले उनको पहिलो सुपरहिट चलचित्र ‘होस्टल’का दुई नायक गौरव पहारी र सलोन बस्नेतको पनि साथ पाएका छन् ।

‘गाजलु’ एउटा कुमारीको जीवनमा आधारित चलचित्र हो । कुमारी हुंदाका र कुमारीघर छाडेपछि एउटा भूतपूर्व कुमारीले समाजमा घुलमिल हुन र एउटा सामान्य नारीका रुपमा बाच्न के कस्ता संघर्ष गर्नुपर्छ भन्ने विषय चलचित्रमा निकै मर्मस्पर्शी तरिकाले चित्रण गरिएको छ । नेपाली कला, संस्कृतिको जगेर्ना गर्ने र अझपनि हाम्रो समाजमा रहिआएको अन्धविश्वास र कुरीतिलाई नया पुस्ताले कसरी हटाउने भन्ने सन्देश चलचित्रले दिएको छ । एकपटक कुमारी भैसकेकी युवतीसँग विवाह गर्ने पुरुषको अकालमा मृत्यु हुन्छ भन्ने पुरानो कथनलाई आधार बनाएर निर्देशक बीसीले यो चलचित्र तयार पारेका हुन् । ठीक यस्तै विषयमा धेरै वर्षअघि चलचित्र ‘कुमारी’ बनेको थियो । तर चलचित्र ‘कुमारी’ भन्दा ‘गाजलु’ धेरै फरक रहेको छ ।

चलचित्रमा सृष्टि श्रेष्ठ कुमारी भैसकेकी युवतीको भूमिकामा छिन् । उनको प्रेम अनमोलसँग हुन्छ । चलचित्रका छायांकार शैलेन्द्र डी कार्की तथा सम्पादक सुरेन्द्र पौडेल हुन् । चलचित्रमा संगीत कालीप्रसाद बासकोटा र हर्कुलस बस्नेतको रहेको छ ।

14247752_10154367471165435_1584156429_o

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com