युक्रेनी राष्ट्रपतिले भने – सार्वभौमिकता र स्वतन्त्रताको लागि लडिरहेका छौँ, युद्ध जित्नेछौँ
प्रकाशित मिति : चैत्र ६, २०८१ बुधबार
Finland Ukraine
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सैन्य सहायता सम्बन्धी वार्ताका लागि फिनल्यान्डमा छन् ।
फिनल्यान्डका राष्ट्रपति एलेक्जेन्डर स्टबसँगको वार्तापछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेन र फिनल्यान्ड दुवैले रुसको छिमेकी हुनुको चुनौतीलाई राम्रोसँग बुझेको बताए ।
उनले भने, “युक्रेन र फिनल्यान्ड दुवैले रुसको छिमेकी हुनुको चुनौतीलाई राम्रोसँग बुझ्छन्।”
उनले आफूहरू आफ्नो सार्वभौमिकता र स्वतन्त्रताको लागि लडिरहेका बताउँदै यो युद्ध जित्ने विश्वास व्यक्त गरे । उनले थपे, “हामी हाम्रो सार्वभौमिकता र हाम्रो स्वतन्त्रताको लागि लडिरहेका छौँ, हामी यो युद्ध जित्नेछौँ।”
राष्ट्रपति जेलेन्स्कीले शान्ति स्थापनाका लागि रुसमाथि मिलेर दबाब दिनु आवश्यक रहेको बताए । उनले यसमा सम्पूर्ण युरोप एकजुट भएर आफ्नो रक्षा गर्नुपर्नेमा जोड दिए ।
“शान्ति स्थापनाका लागि रुसमाथि मिलेर दबाब दिनु आवश्यक छ । सम्पूर्ण युरोप एकजुट भएर आफ्नो रक्षा गर्नुपर्छ ।”, राष्ट्रपति जेलेन्स्कीले भने ।
उनले रुसले युद्ध रोक्नका लागि कुनै पहल नगरेको स्पष्ट देखिएको समेत जिकिर गरे । रुसले युक्रेनमाथि सहयोगीहरूले सहायता बन्द गरुन् भन्ने चाहेको बताउँदै राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई कमजोर बनाउन रुस लागिपरेको धारणा राखे ।
उनले भने, “रुस हाम्रा सहयोगीहरूले हाम्रो सहायता बन्द गरून् भन्ने चाहन्छ । ताकि युक्रेन कमजोर बनोस्। यदि पुटिन साँच्चै शान्ति चाहन्छन् भने, उनी हाम्रो सेना कमजोर बनाउन किन चाहन्छन् ?”
फिनल्यान्डका राष्ट्रपति एलेक्जेन्डर स्टबले युक्रेनको समर्थन गर्दै युक्रेनलाई आफ्नो सुरक्षाको पूर्ण अधिकार रहेको बताए । उनले भने, “युक्रेनलाई आफ्नो सुरक्षाको पूर्ण अधिकार छ, र यसमा कुनै रोक लाग्न सक्दैन।”
राष्ट्रपति स्टबले पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको कुराकानीलाई ‘सही दिशामा एक महत्त्वपूर्ण कदम’ रूपमा उल्लेख गरे ।








