रुससँग शान्ति वार्ता चाँडै हुने राष्ट्रपति ट्रम्पको भनाई
प्रकाशित मिति : फाल्गुन २८, २०८१ बुधबार

रुस र युक्रेनबीचको युद्धलाई शान्तितर्फ उन्मुख गराउन अमेरिकी अधिकारीहरु रुस जाने भएका छन । उनीहरुले युक्रेनसँग भएको ३० दिन लामो युद्धविराम सम्झौताको सहमतिलाई रुससँग छलफल अगाडि बढाउने बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार युक्रेन सहमत भएको युद्धविराममा रुस पनि सहमत हुन आवश्यक छ । रुसले शान्ति चाहेको हो भने युद्धविराम हुनु पर्दछ उनले भनेका छन ।
साउदी अरेबियामा युक्रेन र अमेरिकी अधिकारीबीचमा भएको वार्तापछि युक्रेन ३० दिनको युद्धविरामको अमेरिकी प्रस्तावमा सहमत भएको हो ।
अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अव रुसको हातमा शान्ति वार्ताको प्रस्ताव पुगेको बताएका छन । युद्ध रोक्ने एकमात्र उपाय भनेको शान्ति वार्ता हो उनले भनेका छन ।
रुसले युद्धविराम प्रस्तावको अध्ययन गरिरहेको बताएको छ । ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच चाँडै फोन वार्ता हुने देखिएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले रुसलाई शान्ति वार्ता मार्फत युद्धविरामका लागि सहमत गराउने अमेरिकी सरकारको जिम्मेवारी रहेको बताएका छन ।
ओभल अफिसमा आयरल्याण्डका प्रधानमन्त्री मिचल मार्टिनसँगको बैठकमा ट्रम्पले युद्धविरामको सम्भावनाबारे सकारात्मक सन्देशहरू प्राप्त भएको बताएका थिए ।
ट्रम्पले रूससँग वार्ता गर्न जाने अधिकारीहरूको नाम भने खुलासा गरेनन् ।
युकेले युक्रेन र अमेरिकाबीच युद्धविराम सम्झौतामा मद्दत गरेको सरकारी स्रोतहरूका अनुसार अमेरिकी अधिकारीहरूले रूसलाई ३० दिनको युद्धविराम प्रस्ताव पेश गर्न जाँदैछन् ।