समाजसेवी थापाको दशैं सुरुवात, बिरामीलाई सहयोग
प्रकाशित मिति : आश्विन ५, २०७४ बिहीबार

काठमाडौं, ५ असोज । चाडबाड मनाउने आआफ्नै शैली हुन्छ । अझ दशै भन्नासाथ बढी नै तडकभडक शैली अपनाउने नेपाली समाज छ । तर, समाजसेवी उज्वल विक्रम थापाले नवरात्रीको पहिला दिन आज घटस्थापनाको दिन नै एकजना विरामीलाई सहयोग गरेर दशैंको सुरुवात गर्नुभएको छ ।
समाजसेवी थापाले सिन्धुलीमाढी ढकाल गाउँ घर भई काठमाडौंको सिभिल अस्पतालमा उपचाररत २९ वर्षीय उज्वल पौडेललाई आज आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो । सहयोग पाएपछि पौडेल खुशी हुँदै धन्यवाद दिनुभयो ।
क्यान्सर रोगको उपचार गराउँदै आउनुभएका पौडेलको आर्थिक अवस्था समेत कमजोर भएपछि थापाले सहयोग गर्दै आउनुभएको हो । उहाँले आज पौडेललाई पाँच हजार रुपैयाँ दिनुभयो । यसअघि २० हजार रुपैयाँ सहयोग गरिसक्नुभएको छ ।
तडकभडक दशैं मनाउनुभन्दा बिरामी, गरिब र दुःखीको सेवा गर्नुपर्छ भन्ने भावनाका कारण आफूले आजबाट अभियान थालेको थापाले बताउनुभयो ।
थापाले सिन्धुली जिल्लाका भूकम्प पीडितदेखि अग्नी पीडितका लागि समेत व्यापक रुपमा सहयोग गर्दै आउनुभएको छ ।