‘पोखरा-ल्हासा उडान’ले पर्यटनमा जगाएको आशा


प्रकाशित मिति : फाल्गुन २०, २०८१ मंगलबार

पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सञ्चालन गर्ने भएको छ । एयरलाइन्सले आगामी चैत १८ देखि पोखराबाट ल्हासा उडान सुरु गर्ने जनाएको हो । सो उडान हुने घोषणासँगै यहाँका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

पोखरालाई अन्तरराष्ट्रियस्तरमा थप परिचित गराउने उद्देश्यसहित सुरु गरिने यो उडानले चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष बितिसक्दा पनि व्यावसायिक उडानले निरन्तरता पाउन सकेको छैन । यस्तो अवस्थामा हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सञ्चालन गर्दा चिनियाँ पर्यटक भित्रिने आशा जागेको व्यवसायीहरुको प्रतिक्रिया छ ।

“पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुँदा व्यवसायीहरूमा ठूलो आशा थियो, तर अपेक्षाकृत अन्तरराष्ट्रिय उडान नहुँदा त्यो उत्साह केही अधुरो भएको थियो, अब भने पोखराबाट चीनको ल्हासासम्म उडान सञ्चालन हुने खबरले पर्यटन क्षेत्रमा नयाँ आशा जागेको छ”, होटेल सङ्घका केन्द्रीय सदस्य भरतराज पराजुलीले भने, “यसले विशेषगरी चिनियाँ पर्यटकको आगमन बढाउने मात्र होइन, पोखरालाई अन्तरराष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।” उनले उडानसँगै नेपालले प्रभावकारी रणनीति अपनाएर चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि गर्न सकिने बताए ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल पोखरा भ्रमण वर्ष २०२५ घोषणासँगै हुन लागेको यो उडानले पोखरामा चिनियाँ पर्यटक भित्र्याउन बाटो खुल्ने बताउँछन् । “यो उडानले चिनियाँ पर्यटकको आगमन बढाएर स्थानीय पर्यटन व्यवसायलाई मजबुत बनाउने मात्र होइन, पोखरालाई दक्षिण एसियाकै प्रमुख पर्यटन केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्नेछ”, पौडेलले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पोखरा–ल्हासा उडान पोखराको पर्यटन प्रवर्द्धनका लागि ठूलो उपलब्धि हुने बताए । उनले भने, “यसले नेपाल–चीनबीचको पर्यटन सम्बन्धलाई मजबुत बनाउने र चिनियाँ पर्यटकलाई सहज यात्रा अनुभव प्रदान गर्नेछ ।”

लामिछानेका अनुसार नेपालमा चिनियाँ पर्यटकहरूको सङ्ख्या कोभिड–१९ अघि उच्च विन्दुमा थियो । २०१९ मा एक लाख ६९ हजार ५४३ चिनियाँ पर्यटक नेपाल आएका थिए । कोभिड महामारीपछि उक्त सङ्ख्या घटे पनि पछिल्लो समय सुधार हुँदै गएको छ । २०२३ मा करिब एक लाख चिनियाँ पर्यटक नेपाल आएका थिए । पोखरा ल्हासाको पहिलो उडानमा पोखराबाट पोखरा महानगरपालिकाको अगुवाइमा पर्यटन व्यवसायीसहित विभिन्न क्षेत्रका १२७ जनाले उडान भर्नेछन् भने चीनबाट करिब एक हजार पर्यटक पोखरा आउने तयारीमा रहेको जनाइएको छ ।

हिमालय एयरलाइन्सका प्रवक्ता विजय श्रेष्ठका अनुसार सुरुआती चरणमा हप्तामा एकपटक उडान हुनेछ, मागअनुसार उडान क्रमशः वृद्धि गरिने छ । हिमालय एयरलाइन्सको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान भर्ने र नेपालमा वार्षिक १० लाख चिनिँया पर्यटक भित्र्याउने रहेको श्रेष्ठको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com