अङ्ग्रेजीलाई अमेरिकाको आधिकारिक भाषा घोषणा गर्ने आदेशमा ट्रम्पद्वारा हस्ताक्षर
प्रकाशित मिति : फाल्गुन १७, २०८१ शनिबार
President Donald Trump holds a signed executive order on deregulation in the Oval Office of the White House, Friday, Jan. 31, 2025, in Washington. (AP Photo/Evan Vucci)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अङ्ग्रेजीलाई अमेरिकाको आधिकारिक भाषा घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यस आदेशले संघीय कोष प्राप्त गर्ने सरकारी एजेन्सीहरू र संस्थाहरूलाई कागजातहरू र सेवाहरू अंग्रेजी बाहेक अन्य भाषामा जारी राख्ने कि नगर्ने छनोट गर्न अनुमति दिन्छ।
यसले पूर्व राष्ट्रपति बिल क्लिन्टनको आदेश खारेज गरेको छ, जसमा संघीय कोष प्राप्त गर्ने सरकार र संस्थाहरूले गैर अंग्रेजी बोल्नेहरूलाई भाषा सहायता प्रदान गर्न आवश्यक थियो। अंग्रेजीलाई आधिकारिक भाषाको रूपमा स्थापना गर्नाले सञ्चारलाई सुव्यवस्थित गर्ने मात्र नभई साझा राष्ट्रिय मूल्य मान्यतालाई सुदृढ पार्ने र थप एकताबद्ध र प्रभावकारी समाजको निर्माण ट्रम्पको आदेशमा भनिएको छ।
नयाँ अमेरिकीहरूलाई स्वागत गर्दै अमेरिकाको राष्ट्रिय भाषा सिक्न र ग्रहण गर्न प्रोत्साहित गर्ने नीतिले अमेरिकालाई साझा घर बनाउने र अमेरिकी सपना पूरा गर्न नयाँ नागरिकहरूलाई सशक्त बनाउने ट्रम्पको आदेशमा उल्लेख छ। अङ्ग्रेजी बोल्नुले आर्थिक रूपमा ढोका खोल्नुका साथै नयाँ आउनेहरूलाई उनीहरूको समुदायमा संलग्न हुन, राष्ट्रिय परम्पराहरूमा भाग लिन र समाजलाई सहयोग गर्न मद्दत गर्ने आदेशमा जनाइएको छ ।
अमेरिकामा ३० भन्दा बढी राज्यहरूले अङ्ग्रेजीलाई आफ्नो आधिकारिक भाषाको रूपमा तोक्ने कानुनहरू पारित गरिसकेका छन् । दशकौंदेखि सांसदहरूले अङ्ग्रेजीलाई अमेरिकाको आधिकारिक भाषाको रूपमा तोक्न कानून पेश गर्दै आएपनि ती प्रयासहरू सफल भएका छैनन्।
गत महिना ट्रम्पको पदभार ग्रहणको केही घण्टाभित्रै नयाँ प्रशासनले ह्वाइट हाउसको आधिकारिक वेबसाइटको स्पेनिश भाषा संस्करण हटाएको थियो । हिस्पानिक वकालत समूह र अन्यले यो परिवर्तनमा निराशा व्यक्त गरेका छन् । ह्वाइट हाउसले त्यसबेला वेबसाइटको स्पेनिश भाषा संस्करणलाई अनलाइनमा ल्याउन प्रतिबद्ध रहेको बताएको थियो। तर शनिबारसम्म पनि पुनःनिर्माण हुन सकेको छैन ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि वेबसाइटको स्पेनिश संस्करण बन्द गरेका थिए । २०२१ मा राष्ट्रपति जो बाइडेनको पदभार ग्रहण हुँदा यसलाई पुनर्स्थापित गरिएको थियो।






