अङ्ग्रेजीलाई अमेरिकाको आधिकारिक भाषा घोषणा गर्ने आदेशमा ट्रम्पद्वारा हस्ताक्षर


प्रकाशित मिति : फाल्गुन १७, २०८१ शनिबार

President Donald Trump holds a signed executive order on deregulation in the Oval Office of the White House, Friday, Jan. 31, 2025, in Washington. (AP Photo/Evan Vucci)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अङ्ग्रेजीलाई अमेरिकाको आधिकारिक भाषा घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यस आदेशले संघीय कोष प्राप्त गर्ने सरकारी एजेन्सीहरू र संस्थाहरूलाई कागजातहरू र सेवाहरू अंग्रेजी बाहेक अन्य भाषामा जारी राख्ने कि नगर्ने छनोट गर्न अनुमति दिन्छ।

यसले पूर्व राष्ट्रपति बिल क्लिन्टनको आदेश खारेज गरेको छ, जसमा संघीय कोष प्राप्त गर्ने सरकार र संस्थाहरूले गैर अंग्रेजी बोल्नेहरूलाई भाषा सहायता प्रदान गर्न आवश्यक थियो। अंग्रेजीलाई आधिकारिक भाषाको रूपमा स्थापना गर्नाले सञ्चारलाई सुव्यवस्थित गर्ने मात्र नभई साझा राष्ट्रिय मूल्य मान्यतालाई सुदृढ पार्ने र थप एकताबद्ध र प्रभावकारी समाजको निर्माण ट्रम्पको आदेशमा भनिएको छ।

नयाँ अमेरिकीहरूलाई स्वागत गर्दै अमेरिकाको राष्ट्रिय भाषा सिक्न र ग्रहण गर्न प्रोत्साहित गर्ने नीतिले अमेरिकालाई साझा घर बनाउने र अमेरिकी सपना पूरा गर्न नयाँ नागरिकहरूलाई सशक्त बनाउने ट्रम्पको आदेशमा उल्लेख छ। अङ्ग्रेजी बोल्नुले आर्थिक रूपमा ढोका खोल्नुका साथै नयाँ आउनेहरूलाई उनीहरूको समुदायमा संलग्न हुन, राष्ट्रिय परम्पराहरूमा भाग लिन र समाजलाई सहयोग गर्न मद्दत गर्ने आदेशमा जनाइएको छ ।

अमेरिकामा ३० भन्दा बढी राज्यहरूले अङ्ग्रेजीलाई आफ्नो आधिकारिक भाषाको रूपमा तोक्ने कानुनहरू पारित गरिसकेका छन् । दशकौंदेखि सांसदहरूले अङ्ग्रेजीलाई अमेरिकाको आधिकारिक भाषाको रूपमा तोक्न कानून पेश गर्दै आएपनि ती प्रयासहरू सफल भएका छैनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत महिना ट्रम्पको पदभार ग्रहणको केही घण्टाभित्रै नयाँ प्रशासनले ह्वाइट हाउसको आधिकारिक वेबसाइटको स्पेनिश भाषा संस्करण हटाएको थियो । हिस्पानिक वकालत समूह र अन्यले यो परिवर्तनमा निराशा व्यक्त गरेका छन् । ह्वाइट हाउसले त्यसबेला वेबसाइटको स्पेनिश भाषा संस्करणलाई अनलाइनमा ल्याउन प्रतिबद्ध रहेको बताएको थियो। तर शनिबारसम्म पनि पुनःनिर्माण हुन सकेको छैन ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि वेबसाइटको स्पेनिश संस्करण बन्द गरेका थिए । २०२१ मा राष्ट्रपति जो बाइडेनको पदभार ग्रहण हुँदा यसलाई पुनर्स्थापित गरिएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com