क्यानडा र मेक्सिकोबाट आयातमा २५% भन्सार मार्च ४ बाट, चीनबाट आउने सामानमा १०% थप
प्रकाशित मिति : फाल्गुन १५, २०८१ बिहीबार

क्यानाडा र मेक्सिकोबाट आयातमा २५ प्रतिशत भन्सार शुल्क मार्च ४ मा लागू हुने भएको छ । राष्ट्रपति ट्रम्पले बिहीबार बिहान भन्सार शुल्कहरु निर्धारित रूपमा नै लागु हुने बताउँदै ती देशहरूले अझै पनि अमेरिकामा लागूऔषधको प्रवाह रोक्न पर्याप्त काम नगरेको दाबी गरेका छन् ।
चीनबाट आउने सामानमा पनि थप १० प्रतिशत शुल्क लगाइने छ । मेक्सिको र क्यानडाबाट अझै पनि अमेरिकामा धेरै उच्च र अस्वीकार्य स्तरमा लागूपदार्थहरू पठाइएको तथा लागु औषधको ठूलो प्रतिशत फेन्टानिलको रूपमा चीनमा बनाएर आपूर्ति गरिने ट्रम्पले बताएका छन् ।
आप्रवासी र लागूपदार्थको प्रवाहलाई रोक्नको लागि ट्रम्पले फेब्रुअरीको सुरुमा क्यानाडा, मेक्सिको र चीनका सबै उत्पादनहरूमा शुल्क लगाउने चेतावनी दिएका थिए । तर मेक्सिको र क्यानडाले सीमामा थप सेना पठाउने र क्यानडाको मामलामा फेन्टानिल निगरानी प्रमुख नियुक्त गर्ने जस्ता उपायहरू गर्ने वाचा गरेपछि ट्रम्पले एक महिनाको लागि तिनीहरूको शुल्कहरू रोकेका थिए ।
तीन ठूला व्यापारिक साझेदारहरूमा थप शुल्कले आर्थिक तनावमा थपिने देखिएको छ । ट्रम्पको कदमले क्यानाडाली अधिकारीहरूको लागि विशेष समस्या खडा गरेको छ । क्यानाडामा बनाइएको फेन्टानिलले अमेरिकाको लागि बढ्दो खतरा उत्पन्न नगरेको अधिकारीहरुको दावी छ ।
गत वर्ष यूएस भन्सार र सीमा सुरक्षा एजेन्टहरूले मेक्सिकोसँगको सीमामा लगभग ९६०० किलोग्राम फेन्टानिल बरामद गरेका थिए । तर यूएस क्यानाडाको सीमामा लगभग १९ किलोग्राम फेन्टानिल बरामद गरिएको थियो । मेक्सिको फेन्टानिल ढुवानीको प्रमुख स्रोत हो। हालैका महिनाहरूमा मेक्सिकन सरकारले सिनालोआ राज्यको बिरूद्ध आफ्नो अपरेसनलाई फराकिलो बनाएको छ ।