भारतीय दूतावासले भन्यो : नेपाली विद्यार्थी ओडिसामा मृत भेटिएको घटनाप्रति दुःख लागेको छ
प्रकाशित मिति : फाल्गुन ६, २०८१ मंगलबार

काठमाण्डौमा रहेको भारतीय दूतावासले ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा एक नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
दूतावासले विज्ञप्तिमार्फत मृतक परिवारप्रति समवेदना प्रकट गरेको छ । दूतावासले ओडिसा राज्य सरकारसँग सम्पर्कमा रहेको र स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
कलिङ्गा इन्स्टिच्युटले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन, आफ्नो कक्षा पुनः सुरु गर्न र छात्राबासमा बस्न अपिल गरेको छ ।
कलिङ्गा इन्स्टिच्युटले विद्यार्थीहरूलाई शैक्षिक रूपमा परेको क्षतिको पनि जिम्मेवारी लिने आश्वासन दिएको दूतावासले जनाएको छ ।
भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू दुई देशबीचको स्थायी जनस्तर सम्बन्धका महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै दूतावासले भारत सरकारले नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्ने जनाएको छ ।
केआइआइटीमा मृत भेटिएकी छात्रा प्रकृति लम्साल रुपन्देहीको भैरहवा बैंक कलौनीकी रहेको खुलेको छ । उहाँ सिद्धार्थनगर नगरपालिका वडा नं ८ स्थायी घर भएका सुनिल लम्सालकी छोरी हुनुहुन्थ्यो ।
प्रकृतीले त्यहाँ बीआइटी तेस्रो वर्षमा अध्ययन गरिरहनु भएको थियो । भैरहवामा स्थायी घर भए पनि लम्साल परिवारले काठमाडौंमा व्यवसाय गरेर छोराछोरी पढाउँदै आएका थिए ।
प्रकृतीले एक महिनाअघि नै आफूलाई ब्यालकमेल गरी टर्चर दिने काम भएको भन्दै कलेज प्रशासनलाई जानकारी गराएको उहाँका साथीहरुले बताएका छन् ।
कलिङ्गा इन्स्टिच्युटले विद्यार्थीहरुलाई कलेजमा फर्कन आव्हान गरेपनि नेपाली विद्यार्थीहरुले आफु असुरक्षित भएको महशुष गरिरहेको भन्दै अस्वीकार गरेका छन ।
उनीहरुले मगलबार विहानपनि होस्टेलमा रहेका विद्यार्थीहरुमाथि कुटपिट भएको बताएका छन ।