पनामाले भन्यो : अमेरिकी जहाजले पनामा नहरमा निःशुल्क प्रवेश पाउने कुनै सहमति भएको छैन
प्रकाशित मिति : माघ २४, २०८१ बिहीबार

अमेरिकी सरकारी जहाजहरुलाई पनामा नहरमा निशुल्क आवतजावत गर्न दिने बिषयमा कुनै सहमति नभएको पनामाले स्पष्ट पारेको छ ।
तर ह्वाइट हाउसले अमेरिकी जहाजहरुलाई निशुल्क आवागमनको अनुमति दिने सहमति पनामासँग भएको बताएको थियो ।
विदेश मन्त्रालयले अमेरिकी जहाजहरु पनामा नहरबाट निशुल्क आवतजावत गर्न पाउने भएपछि प्रत्येक वर्ष मिलियन डलरको बचत हुने सामाजिक सञ्जाल एक्स मा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पनामा नहर प्राधिकरणले नहर पार गर्नका लागि तिर्नुपर्ने शुल्क निर्धारण गरेको हुन्छ ।
विश्व व्यापारको लागि प्रमुख मार्गको रुपमा रहेको पनामा नहरको नियन्त्रण पुनः प्राप्त गर्ने इच्छा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार व्यक्त गरिरहेका छन ।
८२ किमी लामो पनामा नहर मध्य अमेरिकी देश पनामामार्फत जान्छ र एटलान्टिक र प्रशान्त महासागरको बीचमा जोडिन्छ ।
विदेशमन्त्री मार्को रुबियोले पानामाबाट ‘चिनियाँ प्रभाव र नियन्त्रण’ घटाउनका लागि ‘तत्काल परिवर्तन’ गर्न माग गरेका छन्।
रुबियोले पानामासँग नहरमा चीनको प्रभाव घटाउन माग गरेका छन ।
पनामा नहरमा सबैभन्दा बढी अमेरिकाका जहाजहरु ओहोरदोहोर गर्ने गर्दछन । २०२४ मा नहरमार्फत आवागमन गर्ने ५२ प्रतिशत जहाजहरूका बन्दरगाहहरू अमेरिका थिए ।
प्रत्येक वर्ष लगभग १४,००० जहाजहरूले नहरको प्रयोग गर्छन् । अमेरिकाले २० औं शताब्दीको प्रारम्भमा नहर निर्माण गरेको थियो ।
तर वर्षौंको विरोधपछि राष्ट्रपति जिमी कार्टरले १९७७ मा पनामासँग सन्धीमा गरेको हस्ताक्षरपछि नहरलाई हस्तान्तरण गर्ने प्रकृया सुरु भएको थियो ।