गाजालाई अमेरिकी क्षेत्रका रुपमा लिन पाएमा मध्य पूर्वको ‘रिभिएरा’ बनाइदिने ट्रम्पको वाचा


प्रकाशित मिति : माघ २२, २०८१ मंगलबार

मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई अमेरिकी क्षेत्रका रुपमा लिनुपर्ने प्रस्ताव गरेका छन्। साथै त्यहाँ रहेका झण्डै २० लाख प्यालेस्टिनीलाई गाजा छोड्नुपर्ने बताउँदै उनीहरूलाई मानवीय मन भएका चासो राख्ने देशहरूद्वारा वित्त पोषित नयाँ स्थानमा पुनर्स्थापना गर्नुपर्ने बताएका छन् ।

ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले गाजाको अवस्था अध्ययन गरिसकेको बताएका छन् । उनले गाजालाई अमेरिकी क्षेत्रका रुपमा लिएर विकास गर्ने आफ्नो योजनालाई सबैभन्दा उच्च नेतृत्वबाट व्यापक समर्थन मिलेको दाबी गरेका छन् । ट्रम्पले गाजालाई मध्य पूर्वको रिभिएरा बनाउने वाचा गरेका छन् ।

ट्रम्पले गाजालाई अमेरिकी क्षेत्रका रूपमा लिन चाहेको भन्दै सम्पूर्ण प्यालेस्टिनी जनसंख्या स्थायी रूपमा अन्यत्र स्थानान्तरण गर्ने आफ्नो विचार सार्वजनिक गरेका हुन्। इजिप्ट र जोर्डनजस्ता देशहरूमा प्यालेस्टिनीहरूलाई पुनर्स्थापित गर्नुपर्ने उनले बताएका छन् ।

उनले गाजालाई रोजगारी र पर्यटनको केन्द्र बनाउन चाहेको बताएका छन् । तर, यसले मध्य पूर्वमा गहिरो भूराजनीतिक संकट निम्त्याउने देखिन्छ। गाजाको नियन्त्रण दशकौँदेखि अरब इजरायलद्वन्द्वको केन्द्रबिन्दु रहँदै आएको छ। ट्रम्पको प्रस्तावले औपनिवेशिक युगमा पश्चिमी शक्तिहरूले क्षेत्रीय नक्सा पुन कोरेको सम्झना गराएको छ ।

ट्रम्पले गाजाको पुनर्निर्माणका लागि कानुनी अधिकारबारे केही उल्लेख गरेनन्। साथै, जबरजस्ती जनसंख्या स्थानान्तरण अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुने विषयलाई पनि सम्बोधन गरेनन्।

पछिल्ला दुई दशकदेखि गाजामा नियन्त्रण राख्दै आएको हमासले मंगलबार नै ट्रम्पको योजना अस्वीकार गरेको छ । इजिप्ट र जोर्डनले पनि ठूलो संख्यामा प्यालेस्टिनीहरूलाई आफ्नो मुलुकमा बस्न दिन अस्वीकार गरेका छन्। पत्रकार सम्मेलनमा ट्रम्पले गाजा बस्न लायक स्थान नभएको र त्यहाँका मानिसलाई बस्नका लागि नयाँ स्थान आवश्यक भएको बताएका छन् ।

उनले अन्य क्षेत्रीय देशहरूले प्यालेस्टिनी पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्नुपर्ने बताएका छन्। उनले सही ठाउँ फेला खोजेर त्यहाँ प्यालेस्टिनीहरूका लागि सुन्दर बस्ती बनाउने र त्यो गाजामा फर्कनुभन्दा धेरै राम्रो हुने बताएका छन् । तर हामासका वरिष्ठ अधिकारी सामी अबु जुह्रीले ट्रम्पको प्रस्तावलाई क्षेत्रीय अस्थिरता निम्त्याउने योजना भन्दै अस्वीकार गरेका छन् ।

गाजाको इतिहास लामो संघर्षले भरिएको छ। गाजाका अधिकांश बासिन्दा १९४८ मा इजरायली स्वतन्त्रता युद्धको क्रममा विस्थापित भएका प्यालेस्टिनीका सन्तान हुन्। ट्रम्पको योजना पुनः उनीहरूलाई विस्थापित गर्ने अर्को प्रयासजस्तै देखिन्छ। अन्तर्राष्ट्रिय कानुनअनुसार जबरजस्ती पुनर्स्थापनालाई अपराध मानिन्छ। अमेरिकी प्रशासनले गाजामा शान्ति स्थापना गर्ने भन्दै आएको भए पनि ट्रम्पको प्रस्तावले नयाँ विवाद सिर्जना गर्ने देखिन्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com