अमेरिकासरह सैन्य क्षमता : किम
प्रकाशित मिति : आश्विन १, २०७४ आईतबार

आश्विन १, २०७४-उत्तर कोरियाले आफ्नो सैन्य र परमाणु क्षमता अमेरिका सरह पार्ने जनाएको छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार सर्वोच्च नेता किम जोङ उनले राष्ट्रसंघीय सुरक्षा परिषद्को नाकाबन्दीको जवाफ स्वरूप यस्तो निर्णय गरेका जनाएका हुन् ।
केसीएनएका अनुसार किमले भनेका छन्, ‘हाम्रो प्रमुख लक्ष्य भनेको अमेरिकाको जत्तिकै सैन्य शक्ति स्थापना गर्नु हो, ताकि उसले उत्तर कोरियाविरुद्ध कहिल्यै पनि सैन्य कारबाहीको विकल्पको उच्चारण नगरोस् ।’ उत्तर कोरियाले परमाणु हतियार निर्माणमा उक्त लक्ष्य प्राप्त गर्नै लागेको जनाउँदै किमले अबका दिनमा क्षेप्यास्त्र प्रतिरोधी क्षमतामा सबै शक्ति खर्चने जनाए । उनले भने, ‘हामी ठूलो शक्तिशाली भनाउँदा देशलाई स्पष्ट रूपमा देखाइदिन्छौं कि असीमित प्रतिबन्ध तथा नाकाबन्दीका बाबजुद उत्तर कोरियाले परमाणु शक्ति हासिल गर्ने लक्ष्य कसरी प्राप्त गर्छ ।’
सुरक्षा परिषद्द्वारा उत्तरको निन्दा
राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकले उत्तर कोरियाली गतिविधि ‘अत्यन्तै उक्साहटपूर्ण धम्की’ को संज्ञा दिँदै निन्दा गरेको छ ।
परिषद्को बैठकले कोरियकाली प्रायद्वीपमा जारी तनाव कम गर्नेतर्फ दुवै कोरिया संयमित हुनुपर्ने जनाएको छ । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणले संयुक्त राष्ट्रसंघीय निर्णयको गम्भीर उल्लंघन भएको जनाए । उत्तर कोरियाले शुक्रबार प्रहार गरेको अन्तरमहादेशीय क्षेप्यास्त्र जापानको आकाश हुँदै समुद्रमा खसेपछि अमेरिका र जापानको आह्वानमा सुरक्षा परिषद्को बैठक बसेको हो ।
उक्त अन्तरमहादेशीय क्षेप्यास्त्र जापानको हकाइडो टापुमाथिको आकाश हुँदै ३ हजार ७ सय किलोमिटर टाढा प्रशान्त सागरमा खसेको थियो । शुक्रबार गरिएको क्षेप्यास्त्र परीक्षणको किमले व्यक्तिगत रूपमा अवलोकन गरेका थिए । क्षेप्यास्त्रले अमेरिकाको गुआम टापुसम्म मार हान्न सक्ने बताइएको छ । प्रशान्त सागरस्थित अमेरिकी भूभाग गुआममा अमेरिकी सेनाको अखडा छ । यसअघि अगस्ट २९ मा उत्तर कोरियाली क्षेप्यास्त्र जापानको सामुद्रिक क्षेत्रमा खसेको थियो । उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेलगत्तै जापानमा चेतावनीयुक्त साइरन बज्यो ।
संकेत पाउनासाथ जापानले नागरिकलाई सुरक्षित स्थानमा लुक्न आग्रह गरेको थियो । उत्तर कोरियाले सेप्टेम्बर ३ मा हाइड्रोजन बम परीक्षण गरेपछि राष्ट्रसंघीय सुरक्षा परिषद्ले अमेरिकाको प्रस्तावमा उत्तर कोरियाविरुद्ध नाकाबन्दी कडा पार्ने निर्णय गरेको थियो ।