मेक्सिकोले सिमानामा १०,००० सैनिक परिचालन गर्ने सहमतिपछि २५ प्रतिशत शुल्क स्थगित
प्रकाशित मिति : माघ २१, २०८१ सोमबार
Mexican President Claudia Sheinbaum gives her morning news conference at the national palace in Mexico City, Monday, Feb. 3, 2025. (AP Photo/Marco Ugarte)
मेक्सिकोबाट अमेरिकामा आउने सामानमा लगाइएको २५ प्रतिशत शुल्क तत्कालका लागि स्थगन गरिएको छ । मेक्सिकोले अमेरिकासँग ट्रम्पको शुल्क ढिलाइ गर्ने सम्झौता गरेको हो ।
राष्ट्रपति ट्रम्पले मेक्सिकोमाथि लगाइने शुल्क एक महिनाका लागि रोक्ने घोषणा गरेका छन्, तर क्यानडा र चीनमाथि लागु हुने शुल्कहरू मङ्गलबारबाट कार्यान्वयनमा जानेछ। व्यापार युद्धको डरका कारण एसियाली र युरोपेली बजारमा गिरावट आएपछि अमेरिकी सेयर बजार पनि सुरुआती कारोबारमा ओरालो लागेको छ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउमले ट्रम्प प्रशासनसँग सम्झौता गर्दै मङ्गलबार लागू हुन लागेका कडा शुल्क एक महिनाका लागि स्थगित गराएकी छन्। यस सम्झौतासँगै अमेरिका र मेक्सिकोले सीमा सुरक्षासम्बन्धी विभिन्न सहमति गरेका छन्। शेइनबाउमले १०,००० सैनिक परिचालन गर्ने सहमति जनाएकी छन्, जसलाई राष्ट्रपति ट्रम्पले अमेरिका र मेक्सिको सीमाबाट आप्रवासी र अवैध लागूऔषधको ओसारपसार रोक्न खटाइने बताएका छन्।
यसको बदलामा मेक्सिकोले शनिबार राष्ट्रपति ट्रम्पद्वारा घोषणा गरिएको २५ प्रतिशतको सर्वव्यापी शुल्कबाट कम्तीमा अस्थायी राहत पाउनेछ। साथै मेक्सिकोतर्फ हतियारहरूको ओसारपसार रोक्न अमेरिकाबाट सहयोग प्राप्त हुनेछ । यो सम्झौता ट्रम्पले क्यानडामाथि २५ प्रतिशत र चीनमाथि १० प्रतिशतको शुल्क घोषणा गरेको दुई दिनपछि भएको हो। यी शुल्कले विश्व अर्थतन्त्रलाई प्रभावित पार्न सक्ने भयका कारण विश्वभर सेयर बजार अस्थिर बनेका छन्।
राष्ट्रपति ट्रम्पले विशेष रूपमा अमेरिका भित्र आप्रवासी र लागूऔषध, विशेष गरी फेन्टानाइलको प्रवेशलाई लिएर चिन्ता व्यक्त गर्दै यी शुल्क आदेश दिएका हुन्। उनले क्यानडाबाट आयात हुने उर्जा र तेललाई आंशिक छुट दिए पनि, शुल्कहरूले देश भित्रिने एक तिहाइभन्दा बढी वस्तुहरूलाई असर पार्न सक्ने र उपभोक्ताहरूलाई केही कष्ट हुन सक्ने बताएका छन्।
सप्ताहन्तमा क्यानडाले अमेरिकी सामानमाथि २५ प्रतिशतको जवाफी शुल्क घोषणा गरिसकेको छ । चीनले पनि विश्व व्यापार संगठनमा अमेरिका विरुद्ध मुद्दा दायर गर्ने र आफ्ना हितहरू दृढतापूर्वक जोगाउन उपयुक्त कदम चाल्ने बताएको छ।
आइतबार राष्ट्रपति ट्रम्पले युरोपलाई आफ्नो अर्को लक्ष्य बनाउन सक्ने संकेत दिँदै युरोपियन संघसँग शुल्क निश्चित रूपमा लागु हुने र यो चाँडै नै हुन सक्ने बताएका छन्। सोमबार, युरोपियन नेताहरूले अमेरिका सँगको व्यापार युद्धले एटलान्टिकको दुबै किनारका अर्थतन्त्रलाई अस्थिर बनाउन सक्ने चेतावनी दिएका छन् ।
क्यानडाली सरकारले आइतबार अमेरिकी सामानहरूको सूची प्रकाशित गरेको छ, जसमा मंगलबारदेखि लागू हुने गरी २५ प्रतिशत शुल्क लाग्नेछ। २०२४ मा क्यानडाले ती सामानहरू करिब ३० बिलियन क्यानडियन डलर बराबर आयात गरेको थियो। आगामी तीन हप्ताभित्र क्यानडाले आफ्नो जवाफी शुल्कलाई दोस्रो चरणमा विस्तार गर्दै थप ८६ बिलियन अमेरिकी डलर बराबरको वस्तुहरूलाई लक्षित गर्ने बताएको छ।






