मौन अवधिमा दलहरुको भोज
प्रकाशित मिति : आश्विन १, २०७४ आईतबार

असोज २ गते हुने प्रदेश नम्बर दुईको स्थानीय चुनावको मौन अवधिमा मतदाताहरुलाई भोज खुवाउन दलहरु व्यस्त रहेको देखिएको छ।
मतदातालाई आफ्नो पक्षमा पार्नका लागि दलहरुबीच उनीहरुलाई भोज खुवाउने प्रतिस्पर्धा नै चलेको स्थानीवासी बताउँछन्।
शनिवार अपरान्ह रौतहटको बृन्दावन नगरपालिका वडा नम्बर ७ को मुसलमान बस्तीमा पुग्दा मतदातालाई खुवाउनका लागि एउटा दलले आयोजना गरेको भोजका लागि केही मानिस कुखुरा काटिरहेका थिए ।
उक्त मुसलमान बस्तीका एकजना मतदाता मुजाहिम मन्सुरले शनिवार भइरहेको भोजका बारेमा भने, “अहिले यहाँ कुखुरा काटेर पकाउन चुलो बालेर पानी तताउने काम भइरहेको छ। कुनै पनि दलको भोजमा सबै मतदाता जाने गरेका छन्”।
तछाडमछाड
अर्का मतदाता मुतिम मन्सुरका अनुसार मतदातालाई भोज खुवाउनका लागि दलहरुको प्रतिस्पर्धा चलेको छ।
उनले शनिवार बिहान पनि अर्को दलको भोजको कार्यक्रम सोही स्थानमा भएको बताए।
मतदाताहरुले भोज सबैको खाइदिने तर मत भने विकासका काम गर्ने उम्मेद्वारलाई दिने बताएका छन्।
मतदाताहरुका अनुसार भित्री तराई क्षेत्रका विपन्न, दलित, मुसलमान तथा अल्पसंख्यक मतदाताहरुलाई आफ्नो पक्षमा पार्न मौन अवधिमा दलहरुले भोज चलाएका छन् ।

कारबाही
तर दलका नेतृत्वले भने कार्यकर्तालाई खुवाउँदा छिमेकीहरु खान आउने गरेको बताउने गरेका छन्।
नेपाली कांग्रेस रौतहटका सभापति कृष्ण यादवले भने, “चुनावमा खटिएका कार्यकर्तालाई खुवाउँदा केही संख्या बढ्नु स्वभाविक हो”।
भोज आयोजना गरेको प्रमाण फेला नपरेका कारण दलका विरुद्ध कारबाही अगाडि बढाउन नसकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
उनले भने, “हामी पुग्दा प्रमाण भेट्नै गाह्रो छ। केही मान्छे हुन्छन् तर भोज हुँदैन । तर पनि नियन्त्रणको प्रयास आयोगले गरिरहेका छ”।
भोजमा राँगा, खसी तथा कुखुराको मासु मुख्य परिकार हुने गरेको मतदाताहरु बताउँछन् ।
BBC Nepali