अमेरिकाले नेपाललाई दिने ५ सय मिलियन डलर सहयोगमा आज हस्ताक्षर


प्रकाशित मिति : भाद्र २९, २०७४ बिहीबार

अमेरिकाले नेपाललाई दिने ५ सय मिलियन डलर सहयोगमा आज औपचारिक हस्ताक्षर हुने भएको छ । औपचारिक हस्ताक्षर कार्यक्रमका लागि अहिले दिउसो साढे १२ बजे अमेरिकी विदेशमन्त्रालयका डेपुटी सेक्रेटरी जोन सुलिभान र मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका कार्यकारी सीईओ जोनाथन नासले नेपालका अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई अमेरिकी विदेशमन्त्रालयको सन्धीकक्षमा स्वागत गर्नेछन् ।

क्षेत्रीयस्तरमा सम्बन्ध विस्तार सुधार गर्न, निजी लगानीलाई प्रोत्साहन दिन, वृद्धिलाई अगाडि बढाउन र गरिबी न्यूनीकरण गर्नका लागि यस्तो सहयोग अमेरिकाले गर्ने भएको हो । यसमा नेपाल सरकारले १३० मिलियन डलर थपेर विकाशको काममा लगाइनेछ जुन मिलेनियम च्यालेन्ज कर्पोरेशनको इतिहासमा नै कुनै एउटा देशका लागि सिधा गरिएको सबैभन्दा ठूलो सहयोग हो ।

सहयोग रकमबाट करिब ३ सय किलोमिटर लामो उच्च भोल्टेज विद्युत् लाइन निर्माण गरिने र त्यसका लागि आवश्यक पर्ने सडक मर्मत सम्भार र सुधारका लागि काम गरिने जनाइएको छ । तोकिएको स्थानमा सडक मर्मतपछि नयाँ सडक निर्माणमा समेत खर्च हुने जनाइएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर गर्न अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेतृत्व टिम बुधबार नै अमेरिका आइसकेको छ । अमेरिकी संसदको सत्तापक्ष र प्रतिपक्ष दुवैको सहभागिता रहेको एमसीसीको सञ्चालक समितिले नेपालमा प्राथमिकतामा राखेर सन् २०१४ देखि अध्ययन गरेको थियो । विभिन्न चरण पार गर्दै एमसीसीको ठूलो कार्यक्रमअन्तर्गत ‘कम्प्याक्ट’ कार्यक्रममा नेपालको लागि स्वीकृत भएको हो ।

हस्ताक्षर भएको दिनदेखि पाँच बर्षभित्र सहयोग सम्पन्न गर्नुपर्ने हुन्छ । अन्यथा रकम फिर्ता जानेछ । एमसीसीको सञ्चालक समितिले नेपाललाई दिने अनुदान स्वीकृत गरेको चार सातापछि यो सम्झौता हुन लागेको हो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com