मेटाले ट्रम्पको पदभार ग्रहण कोषमा १ मिलियन डलर दान गरेर सम्बन्ध सुधारको प्रयास


प्रकाशित मिति : मंसिर २७, २०८१ बिहीबार

(Official White House Photo by Joiyce N. Boghosian)

मेटाले नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको पदभार ग्रहण कोषमा  १ मिलियन डलर दान गरेको छ ।  मेटाका सिइओ मार्क जुकरबर्गले ट्रम्पसँग  निजी भेटघाट गरेको दुई हप्तापछि यो समाचार आएको हो।

जुकरबर्गले  आगामी प्रशासनको प्रविधि नीति निर्माणमा सक्रिय भूमिका खोजिरहेको देखिन्छ। यो कदम २०२१ को जनवरी ६ को विद्रोहपछि मेटाले ट्रम्पलाई आफ्नो प्लेटफर्मबाट प्रतिबन्ध लगाएको चार वर्षपछिको ठूलो परिवर्तनको संकेत हो।

निर्वाचनको नजिकै जुकरबर्गले ट्रम्पप्रति झन् झन् नजिकिएको देखिएका थिए।  एउटा अन्तर्वार्तामा फेसबुक संस्थापक जुकरबर्गले जुलाईमा ट्रम्पमाथि भएको हत्या प्रयासमा उनको प्रतिक्रियालाई शानदार भनेका थिए।

“ट्रम्पलाई अनुहारमा गोली लागेको भए पनि अमेरिकी झण्डा उठाउँदै हावामा मुक्का हानेको देख्नु मेरो जीवनकै सबैभन्दा शानदार दृश्य हो,” उनले क्यालिफोर्नियाको मेनलो पार्कस्थित मेटाको मुख्यालयमा भएको द सर्किट पोडकास्टमा भनेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एपलका टिम कुक, गूगलका सुन्दर पिचाई, र अमेजनका एन्डी ज्यासी लगायत अमेरिकाका ठूला प्रविधि कम्पनीहरूका धेरैजसो शीर्ष अधिकारीहरू   नोभेम्बरको निर्वाचन अगाडि ट्रम्पसँग भेटघाटको खोजीमा थिए।

ट्रम्प प्रविधि क्षेत्रका शीर्ष व्यक्तिहरूसँगको सम्बन्धमा उत्साहित देखिएका छन्। उनले यी निजी वार्तालापहरूको खुलासा अन्तर्वार्ता र सार्वजनिक कार्यक्रममा गरेका छन्। साथै उनले ती कम्पनीहरूको प्रशंसा गरिरहेका छन्, जसलाई उनले २०२० को निर्वाचनमा पराजयको लागि दोष दिएका थिए।

यस वर्षको मार्चमा मात्रै ट्रम्पले  फेसबुकलाई सिएनबिसी को अन्तर्वार्तामा जनताको शत्रु भनेका थिए, जसका कारण मेटाको शेयर मूल्य ४ प्रतिशत ले घटेको थियो। ट्रम्पले यसअघि चुनाव धाँधली गर्नेहरूलाईू जेल हाल्ने धम्की दिएका थिए, जसमा उनले जुकरबर्गलाई पनि अप्रत्यक्ष रूपमा उल्लेख गरेका थिए।

तर अहिलेको सम्बन्धले ट्रम्प र प्रविधि क्षेत्रबीचको पुरानो विवादलाई नयाँ मोड दिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com