सुरक्षाकर्मी पनि भारतीय नम्बरका गाडीमा


प्रकाशित मिति : भाद्र २७, २०७४ मंगलबार

प्रदेश नम्बर २ मा स्थानीय तहको चुनावी प्रचारप्रसार र सुरक्षामा भारतीय नम्बरका गाडीको व्यापक प्रयोग भइरहेको देखिएको छ।

नेपाली नम्बरका गाडीभन्दा धेरै सस्तो दरमा भाडामा पाइने भारतीय नम्बरका गाडी उम्मेदवार र सुरक्षाकर्मी दुवैले प्रयोग गरिरहेका छन्।

भन्सार तिरेर मात्रै भारतीय नम्बरको गाडी प्रयोग गर्न पाउने नियम रहेपनि नेता र सुरक्षाकर्मीले नियमानुसार राजस्व तिरेको देखिंदैन।

चुनावमा प्रयोग भइरहेका गाडीको सुरक्षा जाँच पनि खासै नहुने भएकाले प्रयोगकर्ताले भन्सार कर नतिर्ने अवस्था देखिएको हो।

खुला सिमाना

भाडामा गाडी उपलब्ध गराउँदै आएका राजेन्द्रकुमार भारतको सीमावर्ती शहरबाट गाडीहरु मगाइने गरेको बताउँछन्।

उनी भन्छन्, “भाडा सस्तो हुने भएकोले प्रचारप्रसारमा भारतीय नम्बरका गाडीको माग धेरै छ।”

प्रदेश नम्बर २ का आठवटै जिल्लाका सिमाना भारतसँग जोडिएको छ।

खुला सीमाका कारण भारतीय नम्बरका गाडी ल्याउन सहज पनि छ।

भन्सार कार्यालय रहेको बाहेकको बाटो भएर ल्याइने गरिएका गाडीका प्रयोगकर्ताले भन्सार पनि तिरिरहेका छैनन्।

भारतीय नम्बरको गाडी एक रात नेपालमा रहँदा ४५२ रुपैयाँ भन्सार तिर्नुपर्ने हुन्छ।

तर अधिकांश गाडीलाई भन्सार कार्यालयले नै दैनिक छुटपुर्जी उपलब्ध गराउँदै आएको बताइएको छ।

सुरक्षा चुनौती

जनकपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले भने, “दिनहुँ छुटपुर्जी पनि जारी भएका छन्, पार्टीका प्रचारप्रसारमा प्रयोग भइरहेका सबै गाडीले भन्सार तिरे वा नतिरहेको हामीले सोध्ने गरेका छैनौँ।”

सुरक्षाकर्मीले भारतबाट आवश्यक गाडी मगाउन सक्ने व्यवस्था मिलाइएको छ।

तर दलका उम्मेदवारले जस्तै सुरक्षाकर्मीले पनि भन्सार तिरेको देखिंदैन।

त्यसबारे संघीय प्रहरी इकाई कार्यालय जनकपुरका वरिष्ठ प्रहरी उपरिक्षक सुभाषचन्द्र चौधरीले भने, “गस्तीका लागि नेपाली नम्बरका गाडी उपलब्ध नभएमा भारतीय नम्बरका लिनू भन्ने निर्देशन थियो। छुट पाएकै होलान् नि।”

भन्सार र प्रहरी कार्यालयहरुमा समेत त्यस्ता गाडीहरु दर्ता नगरिएकाले सुरक्षा चुनौती पनि बढाएको अधिकारीहरु स्वीकार्छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com