फ्लोरिडामा आँधीको विनाश आँकलन हुँदै, झण्डै ६० लाख विद्युत विहिन


प्रकाशित मिति : भाद्र २६, २०७४ सोमबार

एर्मा आँधीले पुर्‍याएका क्षतिबारे अमेरिकी अधिकारीहरुले आँकलन गरिरहेका छन्। शुरुमा निकै शक्तिशाली उक्त आँधी अहिले केही कमजोर भए पनि त्यसले फ्लोरिडाको मध्य भागमा भारी वर्षा गराइरहेको छ। आँधीका कारण सोमबार विहानसम्म झण्डै ६० लाख व्यक्ति विद्युत विहिन अवस्थामा रहेका छन् ।

उज्यालो हुन थालेसंगै फ्लोरिडामा खोज तथा उद्धार टोली त्यहाँ एर्मा आँधीले पुर्‍याएको क्षतिको आँकलन गर्न जुटेका छन्। मायमी तथा अन्य शहरी इलाकामा आँधीले बाढीको स्थिति ल्याइदिएको छ।

आइतबार क्याटगोरी ४ को शक्ति भएको सो आँधी अहिले कमजोर भएको छ। सो आँधी १० वटा क्यारिबियन मुलुक तथा क्षेत्रमा विध्वंश मच्चाउँदै अमेरिका पुगेको थियो।

क्यारिबियन क्षेत्रमा २८ जनाको ज्यान गएको बताइएको छ। क्युबामा सो आँधीका कारण १० जनाको ज्यान गएको छ।
अमेरिकामा त्यसले पुर्‍याएको क्षति अझै प्रस्ट भइसकेको छैन।

हालसालै आएको हार्भी आँधीले टेक्ससमा विनाश निम्त्याएको थियो। यी दुई आँधीले अमेरिकामा खर्बौंको नोक्सानी पुर्याएका छन्। तीव्र वेगका हावाहुरी तथा बाढीले फ्लोरिडामा पचास लाखभन्दा धेरै मानिस अहिले बिजुलीबाट बञ्चित भएको बताइएको छ।

फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले मानिसहरु घर फर्कन सक्ने वातावरण बन्न अझै केही समय लाग्ने बताएका छन्। उनका अनुसार राज्यभर बिजुलीका लाइन विग्रिएका छन् भने कतिपय सडकहरु आवतजावत लायक छैनन्।

Source : BBC Nepali

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com