इजरायली प्रधानमन्त्री ‘ऐतिहासिक’ ल्याटिन अमेरिकी भ्रमण


प्रकाशित मिति : भाद्र २५, २०७४ आईतबार

जेरुसेलम, २४ भदौ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु आइतबारदेखि पाँच–दिने भ्रमणमा ल्याटिन अमेरिका जाने बताउनुभएको छ ।

इजरायली प्रधानमन्त्रीका रूपमा हुने यो पहिलो भ्रमण हो । नेतन्याहुले संयुक्त राष्ट्रसंघको महासभालाई न्यूयोर्कमा सम्बोधन गर्नुपूर्व हुने भ्रमणमा उहाँले अर्जेन्टिना, कोलम्बिया, मेक्सिको, पराग्वे तथा संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगी त्यहाँका अधिकारीसँग भेटवार्ता गर्नुहुनेछ ।

अर्जेटिनामा इजरायली राजदूतावास आक्रमणको २५ बर्षपछि पहिलो पटक इजरायली प्रधानमन्त्रीका रूपमा नेतन्याहु अर्जेन्टिना जाँदै हुनुहुन्छ ।

भ्रमण इजरायलको ल्याटिन अमेरिकी मुलुकसँगको सम्बन्धमा सुधार गर्न र ती मुलुकसँगको व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्न फलदायी हुने इजरायली प्रधानमन्त्रीले विश्वास लिनुभएको बताइएको छ ।

इजरायलको एसिया तथा अफ्रिका लगायतका नयाँ क्षेत्रमा कुटनीतिक तथा व्यापारिक सम्बन्ध अघि बढाउने रणनीति अनुसार तय भएको बताइएको छ । आफ्नो भ्रमणबाट इजरायल तथा ल्याटिन अमेरिकाबीचको सम्बन्धलाई बिस्तार गर्न फलदायी हुने नेतन्याहुले बताउनुभएको छ ।

“अर्जेन्टिना र मेक्सिकोमा म इजरायली कम्पनीका प्रतिनिधिमण्डलसहित जेरुसेलम तथा ती देशकाबीच एकआपसमा आर्थिक सम्बन्ध विकास गर्ने बिषयमा केन्द्रित रहनेछु,” नेतन्याहुले इजरायली मन्त्रीपरिषद्को साप्ताहिक बैठकमा बताउनुभयो ।

“हामी एसिया, अफ्रिका, अष्ट्रेलिया, पूर्वी यूरोप, पूर्वी भूमध्यसागरीय क्षेत्र र अन्य कतिपय मुलुकमा गरेका गतिविधिका कारण प्रभावमा रहेका छौँ,” उहाँले भन्नुभयो ।

“भ्रमणबाट हाम्रो आर्थिक, सुरक्षा र प्रविधिजन्य सम्बन्धलाई ल्याटिन अमेरिकासँग विस्तार गर्ने छ साथै यसले इजरायलको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई सुव्यवस्थित शासन प्रक्रियाको माध्यमबाट थप मजबुत पार्नेछ,” उहाँले भन्नुभयो ।

मेक्सिकोमा दुईदिन पहिले आएको विनासकारी भूकम्पपछि नेतन्याहु मेक्सिकोको पनि भ्रमण गर्दै हुनुहुन्छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com