नेपालमा बाढीपहिरो र डुबानबाट १७० को मृत्यु, अमेरिकामा रहेका नेपाली भन्छन् – ‘पूर्वतयारी पुगेन’


प्रकाशित मिति : आश्विन १३, २०८१ आईतबार

‘नेपालमा बाढीपहिरो र डुबानबाट नेपालीहरुले ज्यान गुमाएको खबरले निकै दुख लागेको छ । नेपालमा बाढीपहिरो, भूकम्पजस्ता विपत्ति आउँदा हामी विदेशमा रहेका नेपालीहरुको मन पनि निकै आतिन्छ,’  अमेरिकाको न्युयोर्कको क्वीन्समा बस्दै आएका अशोक ज्ञवालीले भने । अशोक ज्ञवाली नेपालको गुल्मी जिल्लाबाट अमेरिकामा बसोबास गर्ने नेपालीहरुको ११ बर्ष पुरानो संस्था गुल्मी अमेरिका मोडल मुभमेन्ट (गाम) अर्थात् गुल्मी समाजको चौथो अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष समेत हुन् ।

शुक्रबार राति लेदोसहित झरेको पहिरोले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेंसी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा गाडी पुरिँदा ज्यान गुमाउने दुई परिवारका ६ जना व्यक्ति अशोक ज्ञवालीकै जन्मस्थान गुल्मीका हुन् । पहिरोले माइक्रोबस, विङ्गर र अन्य चारवटा सवारीसाधनलाई पुरेको थियो । गाडी पुरिएको उक्त घटनामा ३५ जनाको शव फेला परेको छ। ज्ञवाली भन्छन् – ‘यो घटनाले हामीलाई अझ मर्माहत पारेको छ । यो घटनामा अत्यत्नै ट्यालेन्ट विद्यार्थी र उनीहरुका परिवारले ज्यान गुमाएको घटनाले ठूलो क्षति पुगेको छ ।’

यो साताको अविरल बर्षापछि नेपालमा बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ७० जना जनाको मृत्यु भइसकेको गृह मन्त्रालयले जनाएको छ भने ४२ जना अझै बेपत्ता भएका छन् । विपद्मा परी एक सय एघारजना घाइते भएका छन् । हालसम्म ४ हजारजनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै ३५ जनाको मृत्यु भएको छ । राजधानी काठमाण्डू जोड्ने सबै प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन् भने सयौँ यात्रुबाटोमा अलपत्र परेका छन् ।

पहिरोका घाइतेलाई नेपाली सेनाको उद्धार टोलीले आज हेलिकोप्टरद्वारा उद्धार गरी धुलिखेल ल्याउँदै । तस्बिर : नेपाली सेना/रासस

उद्धार र राहतका लाति हजारौँको सङ्ख्यामा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका सुरक्षाकर्मी परिचालित गरिएको छ । तर उद्दार प्रयास प्रयाप्त नदेखिएको बताउँछन् अशोक ज्ञवाली ।  बर्षा र बाढिपहिरोबारे सरकारले जनतालाई प्रयाप्त रुपमा अलर्ट गराउन नसकेको तथा पूर्व तयारी पनि प्रयाप्त नभएको उनको भनाई छ । त्यस्तै काठमाडौंका बस्तीहरुमा बाढी पस्नुको कारण भूमाफियाहरुको दोष समेत रहेको बताउँछन् उनी ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनी भन्छन् – ‘खोला मिचेर बस्ती बसाल्ने र भूमाफियाहरुको अतिक्रमणका कारण काठमाडौंमा समस्या बढेको हो । जसले गर्दा अहिले कैयनले ज्यान गुमाउने अजस्था आयो । बस्ती बसाल्ने काम दीर्घकालिन काम हो । जोखिममुक्त स्थानमामात्र बस्ती बसाल्नका लागि सरकारले पहल लिनुपर्छ । खोलाहरु अतिक्रमण गरेर घर बनाउँदा यो समस्या आएको छ । १२ बर्षमा खोलो फर्किन्छ भनेजस्तो खोला कुनै पनि दिन फर्केर आउन सक्छ भन्नेबारे सचेत हुनुपर्छ ।’

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभा बैठकमा भाग लिने क्रममा अमेरिका भ्रमणमा रहेको बेला नेपालमा बाढीपहिरो र डुबानको बिपत्ति आएको हो । उनले सामाजित्र सञ्जालमा पोष्ट गर्दै भनेका छन् – ‘यतिबेला नेपालमा देशभर भारी वर्षाले बाढी, पहिरो र डुबानका खबरहरु सामाजिक सञ्जाल र मिडिया मार्फत सुनिरहेको, हेरिरहेको छु। नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भइरहेको छ। भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहनु भएका सबैले सुरक्षा सतर्कता अपनाउनु होला, अत्यावश्यक बाहेक लामो दूरीको यात्रामा ननिस्कनु होला। सबै सुरक्षा निकायका सुरक्षाकर्मी साथीहरु आपातकालीन मद्दतका लागि तयारी अवस्थामा रहनु होला।’

नेपालमा आएको विपत्तिपछि प्रधानमन्त्रीले भ्रमण छोट्याएर तुरुन्त नेपाल नफर्केकोमा अमेरिकामा बसोबास गर्ने कतिपय नेपालीहरुले आक्रोश समेत व्यक्त गरेका छन् । अमेरिकाको भर्जिनिया निवासी कलाकार, व्यवसायी तथा संचारकर्मी रामप्रसाद खनालले भनेका छन् – ‘प्रधानमन्त्री ओलीज्यू, देश यस्तो हालतमा गुज्रिरहेका बेला अमेरिकामा बसेर ट्विट, पोस्ट, उदघाटन मात्र गर्ने कि देश फर्केर केही गर्ने ? कृपया तुरुन्त देश फर्केर यो विपत्तिमा नेपाली जनतालाई, पीडितहरूलाई प्रधानमन्त्री भएको आभास दिनुस्, सरकार भएको आभास गराउनुस् ।’

त्यस्तै न्युयोर्क निवासी नेपाली आनन्द बिष्टले राजधानी काठमाण्डौ लगायत देशभर आएको अविरल बर्षाले धेरै जन धनको क्षती भएकोमा दुख व्यक्त गरेका छन् । जनसम्पर्क समिति अमेरिकामा सभापति विष्टले भनेका छन् – ‘राजधानी काठमाण्डौ लगायत देशभर आएको अविरल बर्षाले धेरै जन धनको क्षती भयको छ । यस बिसम परिस्थितीमा सबै जना सतर्कता अपनाउनु होला । नेपाल सरकारले सम्पूर्ण सतर्कता र उद्दार कार्य प्रभाबकारी तवरबाट अघी बडाउनको लागी माग समेत गर्दछु । दिबंगत आत्माको चीर शान्तिका लागि प्रार्थनाका साथै घाईतेहरुको शीघ्र स्वास्थ लाभको प्रार्थना गर्दछु ।’

अमेरिकामा रहेका केही नेपाली समुदायका संघ संस्थाहरुले पनि विज्ञप्ती निकालेर नेपालमा भएको घटनाप्रति दुख व्यक्त गरेका छन् । मधेसी एसोसिएसन इन अमेरिकाले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै बाढीपीडितलाई सहयोग गर्न कोष खडा गरेको बताएको छ । साथै सबैलाई कोष संकलन अभियानमा योगदान गर्न आग्रह गरिरहेको छ।

कभर फोटोमा दोलखामा पहिरोमा पुरिएका बालकको संयुक्त रुपमा उद्दार गर्दै नेपाल प्रहरी र अन्य सुरक्षा निकायहरु ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com