अमेरिकामा लागुऔषध कारोबारमा नेपाली : फन्दामा तस्कर, फस्दै विद्यार्थी


प्रकाशित मिति : भाद्र २५, २०७४ आईतबार

– किशोर पन्थी

अमेरिकामा ठूलो संख्यामा नेपालीहरु लागु औषधको कारोबार र सेवनमा संलग्न रहेको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको तथ्यांकले देखाएको छ । हरेक बर्ष ठूलो संख्यामा नेपालीहरुले हेरोइन र कोकिनको कारोबार र सेवन गरिरहेको आइसको तथ्यांकले देखाएको हो । गाँजा र हेरोइनको कारोबारमा संलग्नमध्ये कैयनलाई अमेरिकी सरकारले अमेरिकाबाट देशनिकाला गरिसकेको छ ।

कति नेपाली लागु औषधमा संलग्न ?

अमेरिकामा ठूलो संख्यामा नेपालीहरु लागु औषधको कारोबार र सेवनमा संलग्न रहेको पाइएको छ । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको पछिल्लो तथ्यांक अनुशार लागु औषधको कारोबारमा संलग्न भएबापत अहिलेसम्म ३ दर्जन नेपालीहरु अमेरिकाबाट देशनिकालामा परिसकेका छन् । सन् २००२ देखि सन् २०१६ सम्ममात्र अमेरिकामा लागु औषधको किनबेच, ओसारपसार र प्रयोग गरेबापत ३२ जना नेपालीहरुलाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले देशनिकाला गरिसकेको छ ।

लागु औषधको कारोबार गर्नेहरुमा पनि सबैभन्दा धेरै हेरोइनको ओसारपसार गर्नेहरु रहेका छन् । त्यसपछि हेरोइनको बिक्री गर्नेहरुको संख्या उल्लेख्य छ । त्यो बाहेक सेवन गर्ने नेपालीहरुको संख्या पनि डरलाग्दो रहेको छ ।

कुन लागु औषधको कारोबारमा कति ?

लागुऔषधको कारोबारमा संलग्न भएबापत देशनिकाला हुने ३२ जनामध्ये आइसको तथ्यांक अनुशार हेरोइनमा तस्करीमा संलग्न ११ जना रहेका छन् । हेरोइनको बिक्रीमा संलग्न भएबापत ५ जना नेपालीहरु अमेरिकाबाट देशनिकाला भइसकेका छन् ।

त्यस्तै कोकिनको प्रयोग र कारोबारमा संलग्न हुने अरु ५ जना नेपालीहरु पनि अमेरिकाबाट देशनिकालामा परेका छन् । हेरोइनको प्रयोग र कारोबारमा संलग्न भएबापत भने ३ जना नेपालीहरु अमेरिकाबाट देशनिकालामा परेको आइसको तथ्यांकले देखाएको छ । कोकिन बिक्री गर्ने थप १ जना नेपालीहरुपनि अमेरिकाबाट देशनिकालामा परेका छन् ।

त्यो बाहेक लागुऔषध कारोबारसँग सम्बन्धित अन्य मुद्दामा ७ जना नेपालीहरु अमेरिकाबाट देशनिकाला भइसकेका छन् । जसमध्ये ३ जना गाँजासँग सम्बन्धित छन् ।

टेक्सासमा सबैभन्दा बढी

न्युयोर्क राज्यमा लागुऔषधको कारोबार, किनबेच प्रयोग गर्ने चारजना नेपालीहरु देशनिकालामा परेका छन् । त्यो बाहेक लस एन्जसलमा पनि नेपालीहरु लागु औषधको कारोबारमा संलग्न रहेको पाइएको छ । त्यहाँबाट पनि हेरोइन, कोकिन र गाँजाको तस्करी र किनबेचमा संलग्न हुने चारजना नेपालीहरु देशनिकालामा परिसकेका छन् ।

टेक्सासमा भने ७ जना नेपालीहरु हेरोइन, कोकिन र गाँजाको तस्करी र किनबेचमा संलग्न भएबापत देशनिकालामा परिसकेका छन् । सबैभन्दा धेरै नेपालीहरु लागु औषधको कारोबारमा संलग्न भएबापत देशनिकालामा परेका टेक्सासबाट नै हो ।

लागु औषधको कारोबार गरेबापत वासिंटन डिसीबाट देशनिकाला गरिएका नेपालीहरुको संख्या पनि चार नै रहेको छ । त्यस्तै शिकागोबाट भने २ जना नेपालीहरु लागुऔषधको कारोबारमा संलग्न भएका कारण देशनिकालामा परेका छन् । न्युजर्सीबाट तीनजना, जर्जियाबाट ४ जना, फिलाडेल्फियाबाट २ जना, मिसिगनबाट १ जना नेपाली लागु औषधको कारोबारमा संलग्न भएकाकारण देशनिकालामा परेका छन् ।

कुन उमेर समुहका नेपाली बढी ?

१८ बर्षदेखि २४ बर्षभित्रका २ जना नेपालीहरु लागु औषधको कारोबारमा संलग्न भएबापत देशनिकालामा परेका छन् । २५ देखि २९ बर्षभित्रका ६ जना नेपालीहरु लागु औषधको कारोबारमा संलग्न भएबापत देशनिकालामा परेका छन् । ३० देखि ३४ बर्ष उमेर समुहका ५ जना नेपालीहरु लागुऔषधको कारोबार र तस्करीमा संलग्न भएका कारण देशनिकालामा परेका छन् ।

त्यस्तै ३५ देखि ३९ बर्ष उमेर समुहका ६ जना नेपालीहरु लागुऔषधको कारोबार र तस्करीमा संलग्न भएका कारण देशनिकालामा परेका छन् । ४० देखि ४४ बर्ष उमेर समुहका ३ जना, ४५ देखि ४९ बर्ष उमेर समुहका ४ जना, ५० देखि ५४ बर्ष उमेर समुहका ३ जना, ५५ देखि ५९ बर्षभित्रका २ जना नेपालीहरु लागु औषधको कारोबार, बेचविखन र तस्करी गरेबापत अमेरिकाबाट देशनिकालामा परेका छन् ।

महिला समेत लागु औषधको कारोबारमा

अमेरिकामा नेपाली महिला समेत लागु औषधको कारोबारमा संलग्न रहेको पाइएको छ । तर महिलाको तुलनामा पुरुष नै लागु औषधको कारोबारमा बढी छन् ।

हेरोइन, कोकिन र गाँजाको कारोबारमा संलग्न भएबापत २ जना नेपाली महिला अमेरिकाबाट देशनिकालामा परेका छन् । त्यो बाहेक सबै ३० जना पुरुषहरु हेरोइन, कोकिन र गाँजाको कारोबारमा संलग्न भएबापत देशनिकालामा परेका हुन् ।

सन् २००० भन्दा अगाडि अमेरिका छिरेकाहरुमा ६ जना लागु औषधको कारोबारमा संलग्न भएबापत देशनिकालामा परेका छन् भने अरु सबै सन् २००० पछि अमेरिका छिरेकाहरु हुन् ।

नेपाली विद्यार्थी सेवनमा

लागु औषधको कारोबार र तस्करीमा संलग्न नेपालीहरुको संख्या भन्दा लुकिछिपी सेवन गर्ने नेपालीहरुको संख्या बढ्दो रहेको छ । नेपाली बाहेकका अन्य देशका लागु औषधका तस्करहरुको लागुऔषधको जालोमा फस्नेमा नेपाली विद्यार्थीहरु धेरै छन् ।

अमेरिकामा अध्ययनको शिलशिलामा विद्यार्थी भिसामा आएका कैयन नेपाली विद्यार्थीहरु लागु औषधको दुव्र्यसनमा फसिरहेका छन् । अमेरिकन लागुऔषध तस्करहरुले अमेरिकाभरी लागुऔषध कारोबारको जालो फिजाएका छन् । अमेरिकामा बस्ने विश्वभरका युवाहरुलाई लागुऔषधको दुव्यर्सनमा फसाउन तस्करहरुले फिजाएको यस्तो जालोमा नेपाली विद्यार्थीहरु फस्दै गइरहेका छन् ।

नेपालमा हुंदा लागुऔषधको कुलतमा फसेकाहरुमात्र होइन, नेपालमा हुंदा लागुऔषध सेवन नगरेकाहरु पनि अमेरिकामा भने यस्तो कुलतमा फस्दै गइरहेका छन् । अमेरिकामा अध्ययनरत कैयन नेपाली विद्यार्थीका कारण अमेरिकामा नेपालीको शान बढिरहेको अवस्थामा लागुऔषधमा फसिरहेका विद्यार्थीका कारण भने नेपालीको शाख गिर्ने गरेको छ ।

लागु औषधका तस्करहरुसंग सम्पर्क बढाएर लागु औषधको कुलतमा फसेका कैयन विद्यार्थीहरुको भविश्य समेत अन्धकार बन्दै गइरहेको छ । न्युयोर्कमा अध्ययनरत एकजना नेपाली विद्यार्थीका अनुभवमा न्युयोर्कमा मात्र लागु औषधको दुव्र्यसनमा फसिरहेका विद्यार्थीको संख्या यति बढ्दै गएको छ कि नेपालबाट अमेरिकाआउने नयां नेपाली विद्यार्थीहरु पनि यसको कुलतमा सजिलै फस्दैछन् ।

सम्पन्न परिवारका युवा बने दुब्र्यसनी

काठमाडौंका महेश (नाम परिवर्तन ) सम्पन्न परिवारका व्यक्ति थिए । उनी अमेरिकाको बाल्टिमोरमा रहेको एउटा कलेजमा अध्ययन गर्न नेपालबाट आए । अरु कैयन नेपाली विद्यार्थीहरुलाई जस्तो आफै काम गरेर कमाएको पैसाले पढ्नुपर्ने बाध्यता थिएन, महेशलाई । उनका बाबुले छोराको पढाइका लागि नेपाली रुपैया डलरमा रुपान्तरण गरेर पठाउन सक्थे । त्यसैले महेशले बाल्टिमोरमा आइसकेपछि कुनै काम गर्नुपरेन ।

अमेरिका आएका ६ महिनासम्म त उनी खुरुखुरु कलेज पनि गए । काठमाडौं छंदा गलत संगतका कारण गांजा र चरेशको हल्का लत थियो उनलाई । अमेरिका आइसकेपछि सुरुका दिनमा उनलाई गांजा र चरेशको लागि कुनै मेसो भएन । तर जहां इच्छा त्यहां उपाय भनेजस्तै विस्तारै उनी गांजा र चरेशको लतमा लागेकाहरुको संगतमा पुगे । सुरु सुरुमा हप्ताको एकदुईदिनमात्र भए पुग्थ्यो, पछि हरेक दिन नभई नहुने भयो । नशामा लठ्ठ परेर उनी विस्तारै कलेज जान पनि छाडिदिए । घरबाट भने उनले विभिन्न बहानामा पैसा मगाइरहेकै थिए ।

घरमा छोरोले अमेरिकामा राम्रोसंग पढिरहेको छ भन्दै खुरुखुरु पैसा पठाइरहेका थिए, यता अमेरिकामा महेशको पढाई झ्वाम भइसकेको थियो । उनको स्टाटस पनि गैरकानुनी भइसकेको थियो । लागुऔषधको कुलतमा फसेका उनलाई उम्कन सजिलो थिएन । पछि काठमाडौंमा भएका उनका परिवारले पनि सबैकुरा चालपाएपछि पैसा पठाउन छाडिदिए । लागुऔषधको कुलतमा फस्दा महेशको जिन्दगी दिशाहिन भइसकेको थियो । पछि उनी बाल्टिमोरबाट टेक्सास तिर लागे भन्ने त सुनियो तर कता गए उनका साथीहरुलाई पनि थाहा छैन ।

लागुऔषधका तस्करसम्म विद्यार्थीको पहुंच

लागुऔषधको दुब्र्यसनमा फसिरहेका नेपाली विद्यार्थीहरुको अमेरिकामा रहेका लागु औषधका तस्करहरुसंग सिधा पहुच रहेको छ । तर त्यस्ता तस्करहरु भने लागु औषधको कारोबार गर्ने सबैभन्दा तल्लो तहका तस्करहरु हुन् । ति तल्लो तहका अमेरिकन तस्करहरुको उनीहरु भन्दा उपल्लो तहका लागुऔषधका तस्करहरुसंग मात्र सम्पर्क हुने गर्छ, जोसंग उनीहरु थोकमा लागुऔषध खरिद गर्दै आएका छन् । लागु औषधको ओसारपसारमा संलग्नहरुसंग भने उनीहरुको सम्पर्क नहुने बताइन्छ ।

तिनै लागुऔषधको कारोबार गर्ने तल्लो तहका तस्करहरुसंग लागु औषधको दुव्र्यसनमा फसेका नेपाली विद्यार्थीहरुको सिधा सम्पर्क हुने गरेको छ । लागु औषध बेच्ने त्यस्ता तस्करहरुको मोबाइल नम्बर दुब्र्यसनमा फसेका नेपाली विद्यार्थीको मोबाइलमा नै सेभ हुने गरेको छ । तस्करहरुले भने प्रहरीको जालोमा पर्नबाट बच्नका लागि नेपाली विद्यार्थीका नम्बर आफ्नो मोबाइलमा सेभ गरेका हुन्छन् ।

विगत लामोसमयदेखि अमेरिकाको न्युयोर्कमा बसेर लागु औषध सेवन गर्दै आइरहेका एकजना नेपाली विद्यार्थी भन्छन् – प्रहरीको फन्दामा पर्नबाट जोगिनका लागि लागु औषध बेच्नेसंग हाम्रो नम्बर साटासाट गरिएको हुन्छ । लागु औषध सेवन गर्दै आइरहेका ति विद्यार्थीका अनुसार नयां नेपाली विद्यार्थीले लागु औषध किन्नु पर्ने भएमा भने पुरानो ग्राहकसंग गएर लागु औषधको कारोबार गर्ने तस्करसंग चिनाजानी गर्नुपर्ने हुन्छ ।
पुरानो ग्राहकसंग आएर विश्वासको वातावरण तयार पारिसकेपछि तस्करहरुले नयां ग्राहकको मोबाइल नम्बर सेभ गरेर राख्छन् । अनि अर्कोपटक देखि नयां ग्राहक एक्लै गएर पनि लागु औषध किन्न सक्छ ।

लागु औषधको बेचविखन हुने स्थल

लागु औषधका तस्करहरुसंग सम्पर्क भइसकेपछि दुव्र्यसनमा फसेका नेपाली विद्यार्थीहरु धेरै जसो त तस्करहरुले कारोबार संचालन गरिरहेका अपार्टमेन्टमा नै पुगेर लागु औषध किन्ने गर्दछन् । तर कहिलेकांही तस्करहरुले पूर्ण रुपमा विश्वस्त नभएको अवस्थामा आफू बस्ने अपार्टमेन्ट देखाउदैनन् ।

उसो त लागु औषधका कारोबार गर्ने अमेरिकन तस्करहरुले आफू बस्ने अपार्टमेन्ट पनि बेलाबेलामा परिवर्तन गर्ने भएकाले फोनमार्फत किन्ने स्थान तय हुने बताउंछन्, विगत लामो समयदेखि लागु औषध सेवन गर्दै आएका एकजना नेपाली विद्यार्थी । त्यो बाहेक लागु औषधको कारोबार गर्नेहरुले नेपाली ग्राहक दुब्र्यसनीहरुलाई पार्क, एकान्तस्थल वा अन्य कुनै पनि ठाउमा बोलाएर लागु औषध बेच्ने गरेका छन् ।

यसरी लागु औषधको बेचबिखन गर्ने काममा अमेरिकन, मेक्सिकन वा अरु जो कोही पनि संलग्न रहेका छन् । एकजना विद्यार्थी भन्छन् – मेक्सिकन र अमेरिकन कालाहरु लागु औषधको बेचबिखनमा बढी संलग्न रहेको भनिएपनि मैले भने विगत डेढवर्षदेखि लगातार एउटै अमेरिकन गोरासंगबाट नै लागु औषध खरिद गर्दै आएको छु ।

लागु औषधको बिक्रि गर्ने तस्करहरु कहिले कता बसाई सर्छन् भन्ने कुराको कुनै ठेगान हुदैन । त्यसैले दुव्यर्सनमा फसेका नेपाली विद्यार्थीहरुले नयां नयां तस्करहरुसंग सम्पर्क कायम गरिरहेका हुन्छन् । लागु औषधको कारोबारमा संलग्न व्यक्ति पक्राउ पर्ने, जेल पर्ने र छुट्ने उपक्रम चलिरहनेहुंदा पुराना तस्करहरु सम्पर्कबिहिन हुने र नयां तस्करहरुसंग सम्पर्क कायम गर्नुपर्ने अवस्था आउने दुव्यर्सनमा फसिरहेका नेपाली विद्यार्थीको अनुभव छ । लागु औषध किन्दै आएका एकजना नेपाली विद्यार्थी ग्राहक भन्छन् – बेच्नेहरु बदलिने गरेपनि किन्नेहरु भने नियमित ग्राहक जस्तै हुन् । घटेका छ्रैनन्, बरु थपिदै गएका छन् ।


तिब्बती र नेपालीले पनि गर्छन् बेचबिखन

अमेरिकन वा मेक्सिकनमात्र होइन, तिब्बती र नेपालीहरुपनि लागुऔषको बेचबिखनमा छन् । अमेरिकन तस्करका ग्राहकहरु विश्वका जुनसुकै देशको नागरिक हुने गरेपनि तिब्बती र नेपालीका ग्राहकहरु भने तिब्बती वा नेपाली बाहेक अरु देशका छैनन् ।

सिधै अमेरिकन तस्करहरुसंग सम्पर्क नहुने लागु औषधका दुव्र्यसनीलाई उनीहरुले लागु औषध बेच्ने गरेका छन् । अमेरिकन तस्करसंग सानो परिमाणमा लागु औषध खरिद गरेर नेपाली वा तिब्बतीहरुले लागु औषध बेच्दै आएका छन्, न्युयोर्कमा ।

नेपाली विद्यार्थीहरुले नै अरु नेपाली विद्यार्थीलाई कलेजमै लागु औषध बेच्ने गरेपनि अधिकांशले खासै नाफा नलिइ दिने गरेका छन् । एकजना नेपाली विद्यार्थी भन्छन् – तर तिब्बतीयनहरुसंग किन्दा भने अलिक महंगो पर्छ ।

नेपाल र भारतबाट शरणार्थीका रुपमा अमेरिका आएका तिब्बतीहरु लागु औषधको कारोबारमा संलग्न रहेका छन् । उनीहरुले तिब्बतीहरुलाई मात्र नभई नेपाली विद्यार्थीहरुलाई पनि लागुऔषध बेच्दै आएका छन् । तिब्बतीहरु नेपाली भाषा समेत बोल्न जान्ने भएकाले कैयन नेपाली विद्यार्थीहरु उनीहरुका नियमित ग्राहक जस्तै रहेका छन् ।

तिब्बतीहरुले भने अमेरिकनले जस्तो अपार्टमेन्टमा नै बोलाउने हिम्मत कमै गर्छन् । पार्क वा अन्य सार्वजनिक स्थानमा लुकाएर मात्र लागु औषधको कारोबार गर्छन् उनीहरुले । तिब्बतीसंग किन्दा अलिक महंगो पर्ने भएकाले लागु औषधका अधिकांश नेपाली दुब्र्यसनीहरुले भने सिधै अमेरिकन तस्करहरुसंग सम्पर्क गर्दै आएका छन् ।


रमाइलोपछि लत

सुरु सुरुमा रमाइलोको लागि भन्दै लागु औषध सेवन गर्ने भएपनि पछि उनीहरुमा लत बस्ने गरेको छ । अधिकांश विद्यार्थीहरु खराब संगतका कारण लागु औषधको दलदलमा फस्दै गइरहेका छन्, अमेरिकामा । लत बसेपछि पढाई र सबैकाम छाडेर होमलेस जस्तै पार्क र एकान्तस्थलमा बस्ने र लागु औषध सेवन गर्ने नेपालीहरु उल्लेख्य छन् ।

अमेरिका आइसकेपछि असाहाय महसुस गर्ने, एक्लोपन महसुस गर्ने, डिप्रेसनमा पर्ने , दुखी हुने र बाटो पहिल्याउन नसकेर हराएको जस्तो महसुस गरेको अवस्थामा नेपाली विद्यार्थीहरु लागु औषधको दुव्यर्सनीमा फस्दै गएका छन् । नेपालमा रहेका अभिभावहरुले पनि सम्भव भएसम्म आफ्ना सन्तानका बारेमा जानकारी लिनुपर्ने र सकेसम्म सही मार्गनिर्देश गर्नेहरुको निगरानीमा राख्नुपर्ने आवश्यकता रहेको छ । तर सबैभन्दा महत्वपूर्ण कुरा त विद्यार्थीहरु आफै जिम्मेबार बनेर कुलतबाट जोगिन आवश्यक छ ।

कुनै विद्यार्थी कुलतमा फसिरहेको थाहा पाएमा थाहा पाउनेले उनीहरुका अभिभावकलाई खबर गरिदिएमा पनि जिन्दगी अझ बर्बाद हुनबाट जोगिनसक्ने सम्भावना हुन्छ । अमेरिकामा नेपाली युवा लागु औषधमा कुलतमा फस्दै गइरहेकाले भोलि यसको संक्रमण अझ बढेमा अमेरिकामा रहेको नेपाली कम्युनिटीकै बदनाम हुनसक्ने भएकाले यसलाई रोक्न सबै सचेत र जिम्मेबार हुन जरुरी छ ।


(रिपोर्टमा प्रस्तुत तथ्यांकहरु अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसबाट लिइएका हुन् । )

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com