केन्याको राष्ट्रपतीय निर्वाचनको नयाँ तालिका तयार


प्रकाशित मिति : भाद्र २४, २०७४ शनिबार

नैरोबी, २४ भदौ । केन्यामा फेरी हुन लागेको राष्ट्रपति निर्वाचनका लागि निर्वाचन तालिका तयार भएको छ ।

अर्को महिना अक्टोबर १७ तारिखका दिन मतदान हुनेगरी नयाँ तालिका शुक्रबार सार्वजनिक गरिएको हो ।

यसअघि गत अगस्त ८ तारिखका दिन भएको निर्वाचनमा त्रुटि भएको र अवैधानिक प्रक्रिया अपनाइएको भन्दै अदालतले पुर्ननिर्वाचन गर्न आदेश दिएको थियो ।

केन्याको स्वतन्त्र निर्वाचन आयोगका अध्यक्ष वाफुला चुबुकाटीले निर्वाचनका लागि आवश्यक क्रियाकलापहरु अगाडी बढाइएको जानकारी दिनुभयो ।

उहाँले मतदाताहरुको नामावली दर्ता, त्यसको छानविन, निर्वाचनका लागि नयाँ प्रविधिको प्रयोग, कर्मचारी व्यवस्थापन, तालिम, मतदाता शिक्षा र मतदानको दिन गरिने कामका बारेमा पूर्वतयारी भईरहेको बताउनु भयो ।
निर्वाचनका लागि आवश्यक बजेटहरुको पनि व्यवस्था भईसकेको र तालिम तथा सूचना प्रविधिको कामका लागि संवन्धित निकायलाई दिईसकिएको छ ।

निर्वाचनका लागि उम्मेदवारहरुले प्रचारप्रसार पनि सुरु गरिसकेका छन् । यही सेक्टेम्बर ६ तारिख देखि सुरु भएको उनीहरुको प्रचारप्रसार अक्टोबर १५ तारिख सम्म मात्रै गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । अक्टोबर १५पछि मौन अवधि सुरु हुने भएकाले प्रचारप्रसार गर्न नपाइने भएको हो ।

केन्याको नयाँ राष्ट्रपति बन्नका लागि वर्तमान राष्ट्रपति उहुरु केन्याटा र मुख्य विपक्षी नेता राईला ओडिङगाबीच कडा प्रतिश्पर्धा हुने देखिएको छ ।
यसअघि पनि उहाँहरुकै बीचमा प्रतिश्पर्धा भएको थियो भने वर्तमान राष्ट्रपति केन्याटा विजयी हुनु भएको घोषणा गरिएको थियो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com