न्युयोर्क महापुराणमा ७४ हजार खर्च, पण्डितलाई २० हजार पारिश्रमिक


प्रकाशित मिति : भाद्र २३, २०७४ शुक्रबार

न्युयोर्कमा दुर्गा मन्दिर तथा सांस्कृतिक केन्द्र निर्माणार्थ रिजउड नेपाली समाजले आयोजना गरेको महापुराणको खर्च विवरण सार्वजनिक गरिएको छ । महापुराणमा गरिएको खर्चबारे टिकाटिप्पणीहरु भइरहेको सन्दर्भमा आयोजकले खर्च विवरण सार्वजनिक गरेका हुन् ।

बिहिबार न्युयोर्कको ज्याक्सनहाइटमा रहेको थकाली किचनमा आयोजित पत्रकार भेटघाटमा सम्पूर्ण खर्च विवरण सार्वजनिक गरिएको हो । महापुराण मुल आयोजक समितिका संयोजक राजेश भट्टले खर्च विवरण सार्वजनिक गर्दै महापुराणमा ७४ हजार २ सय ५८ डलर ४९ सेन्ट खर्च गरिएको जानकारी दिए ।

पण्डित दिनबन्धु पोखरेललाई २० हजार १ डलर, हल भाडा १५ हजार २ सय ९५ डलर, प्रसादका लागि ग्रोसरी र सामान ७ हजार ६४ डलर ६७ सेन्ट र फेसबुक लाइभ, अन्तरवार्ता, भिडियो र जनसम्पर्कका लागि सच्ची मैनालीलाई ७ हजार डलर प्रदान गरिएको आयोजकले जानकारी गराए ।

त्यो बाहेक फ्लाएर, ब्यानर लगायतका लागि २४७० डलर, विभिन्न संचारमाध्यममा विज्ञापन र जनसम्पर्कका लागि ९ सय ४६ डलर, स्टेशनरीका लागि १८६९ डलर ४६ सेन्ट, स्टेज तथा डेकोरेशनका लागि २ हजार ५९ डलर ६० सेन्ट, अन्तिम दिनका लागि पण्डित र अन्य खर्च २२ सय ५६ डलर, कलाकारलाई पारिश्रमिक ५१ सय ५० डलर, पण्डित दिनबन्धुका लागि टिकट १२८१ डलर ४० सेन्ट, दिनबन्धुको आमालाई दक्षिणा १ हजार १ डलर, अरु पण्डितहरुलाई दक्षिणा १७ सय डलर, डिजेका लागि २३ सय डलर, कुक र अन्य सहयोगीका लागि १८ सय डलर, पूजा सामाग्रीका लागि १४४७ डलर ५० सेन्ट र अनय खर्च ६१६ डलर ८६ सेन्ट रहेको पत्रकार भेटघाटमा जानकारी दिइयो ।

सात दिनमा १ लाख २० हजार ८ सय ९८ डलर १२ सेन्ट संकलन भएकोमा ७४ हजार २ सय ५८ डलर ४९ सेन्ट खर्च हुँदा ४६ हजार ६ सय ३९ डलर ६३ सेन्ट बचत रहेको पनि आयोजकले जानकारी दिएका छन् । महापुराणमा कुल १५ लाख ५२ हजार ८ सय ४२ डलर ७७ सेन्टसको कबोल भएकोमा १ लाख १६ हजार ५ सय ८६ डलर १२ सेन्ट कार्यक्रम स्थलमा नै संकलन भएको थियो भने १४ लाख ३६ हजार २ सय ५६ डलर ६५ सेन्ट संकलन हुन बाँकी रहेको छ । सन् २०१० को महापुराणमा संकलन हुन बाँकी २ लाख १७ हजार ६ सय २२ डलर ९१ सेन्ट र अहिलेको संकलन हुन बाँकी गरी कुल १६ लाख ५३ हजार ८ सय ७९ डलर ५६ सेन्ट संकलन हुन बाँकी रहेको छ ।

महापुराणमा पहिलो दिन २० हजार २ सय ६ डलर ५० सेन्ट, दोश्रो दिन १ लाख ४४ हजार २ सय ४५ डलर ५५ सेन्ट, तेश्रो दिन ४४ हजार ६ सय ५२ डलर, चौथो दिन १ लाख ३ हजार ३ सय १५ डलर, पाँचौं दिन ३ लाख ६० हजार ८ सय ६० डलर ९१ सेन्ट, छैठौं दिन २ लाख ४७ हजार १ सय ७५ डलर १० सेन्ट र सातौं दिन ६ लाख ३२ हजार ३ सय ८७ डलर ७१ सेन्ट दानको कबोल प्राप्त भएको थियो ।

पत्रकार भेटघाटमा महापुराणका संयोजक राजेश भट्ट, रिजउड नेपाली समाजका अध्यक्ष रविकिरण कोइराला, महापुराण आर्थिक उपसंयोजक तुलसी आचार्य र प्रचारप्रसार उपसंयोजक भुवनेश्वर अधिकारीले पत्रकारका विभिन्न प्रश्नहरुको जवाफ दिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com