अमेरिकन पनि पुग्ने गरेको ढोरपाटनमा पर्यटक आगमन दोब्बरले बढ्यो


प्रकाशित मिति : भाद्र १, २०८१ शनिबार

पुर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ ।

विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरु ढोरपाटन घुम्न आउने क्रम बढेको हो ।

विसं २०८१ को साउनमा ५ सय ८१ जना नेपाली पर्यटकहरुले ढोरपाटन भ्रमण गरेका आरक्षका संरक्षण अधिकृत मण्डिप पंगेनीले बताउनुभयो ।

२०७९।०८० मा पर्यटक प्रवेश शूल्कबाट ९ लाख ८३ हजार २ सय राजस्व संकलन भएकोमा २०८०।०८१ मा १९ लाख ३३ हजार ७ सय पुगेको छ ।

सार्क राष्ट्रका चार, अन्य देशका १ सय २ र १५ हजार ४ सय ६७ जना नेपाली ढोरपाटन आएका थिए ।

ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरुको विवरण राख्ने र शुल्क लिने गरिन्छ ।

ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति १ सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति १ हजार ५ सय र अन्य देशकाले ३ हजारका दरले शूल्क तिर्नुपर्छ ।

सडक यातायात, होटल तथा घरवास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिमा रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तिमगरले बताउनुभयो ।

सुन्दर पाटन, आकर्षक गाउँ, मनै लोभ्याउने हिमाल, पृथक रहनसहन, परम्परागत रूपमा बनेका घर–गोठहरू र घोडचडी ढोरपाटनको सिकार बाहेकको आकर्षण र विशेषता हो ।

स्पेन, अमेरिका, रसीया, जर्मनी, फ्रान्स, बेलारुसलगायत देशका सिकारीहरू सिकार खेल्न आउने गरेका सिकार कम्पनी ग्लोवल सफारी काठमाडौँका सिकार गाईड मानबहादुर पुनले बताउनुभयो ।

बसन्त र सरद याममा सिकारी आउँछन् । यहाँ ३२ प्रजातिका स्तनधारी वन्यजन्तु र १३७ प्रजातिका पंक्षीहरू छन् ।

आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ, घुस्तुङ ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । विसं २०६७र६८ देखि हालसम्म ३९४ नाउर, झारल र रतुवाको सिकार भएको छ ।

सन् २०२२ मा नाउरको गणना गर्दा ७९ वटा झुण्डमा १ हजार २ सय ९० नाउर भेटिएका थिए ।

१ हजार ३ सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पुर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com