युद्धविरामको पालना गर्न आग्रह


प्रकाशित मिति : भाद्र २१, २०७४ बुधबार

संयुक्त राष्ट्रसंघ, २१ भदौ । पूर्वी युक्रेनमा हालै भएको भनिएको युद्धविरामको पालना गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आग्रह गर्नु भएको छ ।

उहाँले गत हप्ता पूर्वी युक्रेनमा भएको सो युद्धविरामको सदुपयोग गरी तथा यसलाई गम्भीरतापूर्वक रुपमा लिएर लागूगर्न सकिएमा शान्तिवार्तका माध्यमबाटै सबै समस्याको समाधान आउने बताउनुभयो ।

बुधबार बिहान एक विज्ञप्ति प्रकाशन गरी उहाँले विभिन्न राजनीतिक पार्टीहरुलाई पनि हाल हिंसाको अन्त्यको लागि आधार बनिरहेको र युद्धविरामका माध्यमबाट नै समस्याको समाधान सहज हुने भएकोले सबैले सोच्नुपर्नेमा पनि जोड दिनुभएको हो ।

महासचिव गुटेरेसका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा सो कुरा बताइएको छ । उक्त वक्तव्यमा भनिएको छ ‘शान्ति स्थापनाका लागि यहाँका राजनीतिक दल र नागरिक समाजको भूमिका महत्वपूर्ण हुन्छ, यसतर्फ सबैको ध्यान जाओस ।’

युक्रेनमा गत हप्ता नयाँ युद्धविरामको घोषणा गरिएको थियो । तर युद्धविरामको घोषणा भएसँगै सो क्षेत्रमा पुनः हमलाको समाचार भने आएका छन् । त्यसैले यस युद्धविरामको अवस्थालाई निरन्तरता दिन उहाँले आग्रह गर्नुभएको हो ।

सो हमलाका कारण केही व्यक्ति घाइते भएका छन् । यस युद्धविरामका लागि फ्रान्स र जर्मनीका अधिकारीहरुले भूमिका निर्वाह गरिरहेका छन् ।
पूर्वी युक्रेनमा गएका केही वर्षदेखि पृथकतावादी नारा सुुरु भएको छ । युक्रेनबाट क्राइमिया भूभाग अलग भएर रसियामा बिलय भएपछि यहाँका नागरिकले पनि आत्मनिर्णयको अधिकारको माग गरेर सो हिंसात्मक आन्दोलन गरेका हुन् ।
तर युक्रेनले भने उक्त भूभागलाई कुनै पनि हालतमा अलग हुन नदिने अडान लिइआएको छ । जसका कारण त्यहाँ सशस्त्र विद्रोह सुरु भएको हो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com